काठमाडौं । डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।
अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ गते बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् । विश्व क्रिकेटका प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर प्रदान गर्दै डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य लिएको छ ।
‘डेभिल्स खाऔँ, मुम्बई जाऔँ’ अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।
पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतका हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, प्रमुख दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेड़े स्टेडियम आवत–जावतको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।
अभियानबारे टिप्पणी गर्दै एसियन थाई फुडका निर्देशक आशिष जाजुले टी–२० विश्वकपका लागि नेपालको छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण भएको बताए । उनले भने, 'डेभिल्स खाऔँ, मुम्बई जाऔँ अभियानमार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्थ्यौँ । क्रिकेटले लाखौँ मानिसलाई जोड्छ, र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।'
यस अभियानमार्फत डेभिल्सले नेपाली क्रिकेटको गर्विलो क्षणलाई समर्थकहरूसँग साझा गर्दै खेलकुदले जोड्ने भावना र उत्साहलाई अझ सशक्त बनाएको छ ।