काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्न डाकिएको सार्वजनिक लेखा समिति बैठकमा सांसद र सचिवबिच जुहारी चलेको छ । खानेपानी मन्त्रालयका सचिव भिमप्रसाद उपाध्यायले काम गर्ने कर्मचारीलाई जथाभावी प्रश्न नगर्न भनेपछि बैठकमा तनाब उत्पन्न भएको हो । ‘सबैलाई चोर देख्ने हाम्रो दृष्टिमै दोष छ, हामी काम गर्ने कर्मचारी हौं सबैलाई जवाफ दिँदै हिड्ने काम हाम्रो होइन, दशैंमा पानी आएन भने प्रश्न गर्नुस तर यसरी अहिले नै हावादारी प्रश्न नगर्नुस’, खानेपानी मन्त्रालयका सचिव उपाध्यायले भने ।

उनले जथाभावी र हावादारी प्रश्न नगर्न भनेपछि सिन्धुपाल्चोकका काँग्रेस सांसद मोहन बस्नेतले ‘अब चैं अति भयो सचिवज्यू’ भने पछि उपाध्याय अलि हच्किएका थिए । सचिव उपाध्यायले थप भावनात्मक हुँदै भने-‘हामी दिन रात घाम पानी नभनी काम गरिरहेका छौं, काम गर्न कति दुःख छ भन्ने हेर्न आजै राती हामीसँग आउनुस, तर यसरी कुरा नबुझी हावादारी प्रश्न नगर्नुस’, उपाध्यायले भने ।
उनले काठमाडौंमा धुलो नउठाई पाइप बिछ्याउनका लागि १० दिन काठमाडौं बन्द गर्नुपर्ने अवस्था रहेको पनि बताए ।‘तपाइँहरु धुलो उडेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ, के १० दिन काठमाडौं बन्द गरेर काम गर भन्नु भएको हो’, उपाध्यायले सांसदहरुलाई प्रतिप्रश्न गरे ।
उनले मेलम्ची आयोजना एसियाकै खानेपानी आयोजनामध्ये दोश्रो लामो सुरुङ भएको आयोजना हो भन्दै त्यसको काममा यस्ता बाधा व्यवधान आउनु स्वभाविक रहेको दावी पनि गरे ।
सचिवले उत्तेजक हुँदै सांसदहरुप्रति आक्रोश पोखे पनि सांसद राजन केसीले उनको प्रस्तुति प्रति आपक्ति जनाए ।‘सचिवज्यु यो मिनी सांसद हो, हाम्रा प्रश्नहरुलाई हावादारी नभन्नुस, हामी जनताका प्रतिनिधी हौं, दशैंमा काठमाडौंमा पानी ल्याउनुस, हामी सम्माना गरौंला’, केसीले भने । उनले मिनी संसदको मानमर्दन गर्ने खालका अभिव्यक्ति नदिन चेतावनी पनि दिए ।
त्यसपछि फेरी सांसद मोहन बस्नेतले आफुसँग मेलम्चीको अनियमितताको तथ्य र तथ्यांक दुबै रहेको दावी गर्दै सचिवलाई संयमित भएर प्रस्तुत हुन आग्रह गरे ।‘मसँग मेलम्चीको अनियमितताको ठुलै फाइल छ, मेरो अध्ययनले दशैंमा मेलम्चीको पानी काठमाडौं आउने देखाउँदैन, तपाईहरु उल्टै हाम्रो प्रश्न गलत भयो भन्ने’, बस्नेतले कडा स्वरमा भने ।
त्यस लगत्तै सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्याले हस्तक्षेप गर्दै भने–‘सचिवज्यूको उत्तेजक अभिव्यक्तिले अलि ठिक भएन, विकासको प्राबिधि काम कर्मचारीले गर्ने भए पनि मुल कमाण्ड राजनीतिक नेतृत्वले नै गर्ने हो’, उपाध्यायले भने । उनले पनि मिनी संसदको मर्यादाको ख्याल राख्न भनेका थिए ।
बैठकमा काँग्रेस सांसद मोहन बस्नेत, राजन केसी र हरि नेपालले मेलम्चीको कार्य प्रगति र वित्तिय सुशासनबारे प्रश्न उठाएका थिए ।