काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रयोग गर्न निर्देशन दिएको छ । आइतबार (आज) विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले झण्डाको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिनेसमेत उल्लेख गरेको छ ।
राष्ट्रिय झण्डा च्यात्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरूपयोग गर्न नपाइनेसमेत मन्त्रालयले जनाएको छ ।
‘निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न)मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको (र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको छ । प्रस्तुत व्यवस्था उल्लङ्घन गरेमा कानूनी कारवाही हुने प्रावधान रहेको छ,’ विज्ञप्तिमा बताइएको छ , ‘नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको विदितै छ । राष्ट्रिय झण्डाको आकार, प्रयोग, प्रयोग गर्ने विधि, राष्ट्रिय झण्डा फहराउने विधि एवम् राष्ट्रिय झण्डाको प्रयोगमा निषेध सहितका प्रावधानहरू रहेका छन् । त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यस कार्यविधि बमोजिम राष्ट्रिय झण्डाको प्रयोग भए नभएको सम्बन्धमा नियमित रूपमा अनुगमन गर्ने प्रावधान रहेको छ ।’
शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउँदा चन्द्रमा तल पर्ने गरी लगाउनुपर्ने मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताएका छन् ।
