काठमाडौं । सामाजिक सञ्जालमा भ्रम छर्ने र बैंकका कर्मचारीमाथि कुटपिट गर्नुपर्छ भन्दै अन्तर्वार्ता दिने एकजनाले नेपाल प्रहरीको साइबर ब्यूरोमा माफी मागेका छन्।
नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक ४४ वर्षीय देवीप्रसाद संग्रौलाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिट गर्नुपर्ने भन्दै अन्तर्वार्ता दिएका थिए । उनले ‘अर्थ सरोकार’ युट्युब च्यानलमा अन्तर्वार्ता दिएका थिए ।
संग्रौलाले सामाजिक सञ्जालहरूमा बैंकका कर्मचारीहरूलाई कुट्ने पिट्ने, भण्डारखाल जस्तो काण्ड मच्चाउनु पर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।
ब्यूरोमा उनले कानुनी राज्यमा कानुनको उलंघन गरी बैङ्कका विरुद्धमा बोल्नु मेरो गल्ती भएको बताएका छन् ।
संग्रौलाले आगामी दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने र समाज तथा राज्यलाई असर पर्ने कुनै पनि अभिव्यक्ति नदिने प्रतिज्ञासमे व्यक्त गरेका छन् ।
‘एक पटकका लागि नेपाल सरकारसँग क्षमा याचना चाहन्छु,’ उनले भनेका छन् ।
ब्यूरोले सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामग्रीहरू प्रसारित गर्नेमाथि समेत यस ब्यूरोले निगरानी गरिरहेको जनाएको छ ।
सामाजिक नैतिकताविरुद्ध यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने ब्यूरोले उल्लेख गरेको छ ।