काठमाडौं । काठमाडौंबाट टर्कीतर्फ उडान भर्न लागेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वेमा फर्काइएको छ ।
टीके–७२७ उडान नम्बर रहेको सो जहाज काठमाडौंबाट करिब १ बजे उड्ने समय तय भएको थियो ।
उडानका लागि अनुमति पाएर धावनमार्गमा दौडीसमेत सकेको अवस्थामा प्राविधिक समस्या देखा परेपछि जहाजले उडान नभरेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विकासन्युजलाई जानकारी दिए ।
‘प्राविधिक समस्या देखा परेपछि उडान भर्न अनुमति नदिएको हो । जहाजलाई आकस्मिक रोकेर पार्किङ्मा फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँच सम्पन्न भएपछि र समस्या नदेखिएमा जहाज उडानमा फर्कन्छ ।’