काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको पशुपति स्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित ६४ जना वृद्धवृद्धालाई न्यानो कपडा, ब्ल्याङ्केट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पललगायत अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ ।
यस किसिमको पहलबाट आश्रममा रहेका वृद्धवृद्धाहरूको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य बैंकले लिएको जनाएको छ । कार्यक्रमका अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम, पशुपतिका प्रमुख शशी पौडेललाई सहयोग सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पशुपति विकास कोषका सदस्य–सचिव प्रकाशमणि शर्मा भुसाल, कोषाध्यक्ष श्रीधर सापकोटा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्यलगायत बैंक तथा सम्बन्धित संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोग तथा मानवीय गतिविधिहरू समय–समयमा गर्दै आएको जनाएको छ ।