ओलीसहितको सार्वजनिक बहसमा नआउने बालेनको अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सार्वजनिक राजनीतिक बहसका लागि तयार रहेको बताइरहँदा प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भने त्यस्तो बहसमा सहभागी नहुने स्पष्ट प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले पछिल्ला दिनहरूमा विभिन्न सार्वजनिक कार्यक्रममा राजनीतिक दल र नेतृत्वबीच खुला बहस आवश्यक रहेको बताउँदै आएका छन् । देशको भविष्य, विकासको दृष्टिकोण र नेतृत्व क्षमताबारे जनतामाझ स्पष्टता ल्याउन सार्वजनिक डिबेट उपयोगी हुने उनको धारणा छ ।

यसै सन्दर्भमा ओलीले सार्वजनिक बहसको प्रस्ताव गरेपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । शाहले आफू अहिले सार्वजनिक राजनीतिक बहसभन्दा व्यवहारिक काम र परिणाममा केन्द्रित रहेको बताएका छन् ।

ओलीको सन्देशमा प्रतिक्रिया दिँदै शाहले लेखेका छन्, '७६ बालबालिकाको हत्या भएको घटनासँग जोडिएका व्यक्तिसँग एउटै मञ्चमा सहभागी हुनु भनेको आफू पनि त्यसमा संलग्न भएको मानिने भएकाले म त्यसमा सहभागी हुँदिन।'

उनले थप आरोप लगाउँदै २३ गते भएको आतङ्ककारी घटनालाई ढाकछोप गर्न २४ गते आगजनी गरिएको दाबी गरेका छन् । शाहका अनुसार आगजनी गरिएका स्थान र नेताहरूका घरबारे जानकारी सम्बन्धित पक्षहरूलाई पहिल्यै थियो ।   

Share News