५२ जनाले तिरेनन् सरकारको रकम, तीनपुस्ते विवरण सार्वजनिक

काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले व्यवसायीदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो ।

कार्यालयले ५२ जनाको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा र ब्याज बुझाउन आग्रह गरेको छ । तोकिएको समयभित्र रकम नतिरेमा उनीहरूको चल-अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

सार्वजनिक सूचनामा उल्लेख भएअनुसार सरकारी रकम तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी उनीहरूको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरूमा पनि पटक-पटक सूचना प्रकाशित गरिएको थियो । साथै सम्बन्धित व्यक्तिहरूको घर ठेगानामा पत्राचार गरी उपस्थित हुन समेत भनिएको थियो ।

तर, ती सबै सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी रहेकाहरूबाट रकम असुल हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ । 

null

Share News