डोङफेङले सञ्चालनमा ल्यायो विश्वकै सबैभन्दा ठूलो डाइ–कास्टिङ कम्पोनेन्ट प्लान्ट

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले विश्वको सबैभन्दा ठूलो डाइ–कास्टिङ मेसिन जडित अटोमोटिभ कम्पोनेन्ट प्लान्ट सञ्चालनमा ल्याएको छ । १६ हजार टन क्षमताको डाइ–कास्टिङ मेसिन जडित उक्त कारखानाले पहिलो उत्पादनका रूपमा ब्याट्री केसिङ उत्पादन गरेको हो ।

कम्पनीका अनुसार यस अत्याधुनिक मेसिनको सहायताले केवल दुई मिनेटमै गाडीका ब्याट्री ट्रे तथा ब्याट्री केसिङलाई आवश्यकताअनुसारको आकारमा डाइ–कास्ट गर्न सकिन्छ । कारखानामा विश्वकै सबैभन्दा ठूलो १६ हजार टन र १० हजार टन क्षमताका डाइ–कास्टिङ डुअल उत्पादन लाइन सञ्चालनमा रहेका छन् ।

चीनमै डिजाइन तथा निर्माण गरिएको उक्त डाइ–कास्टिङ मेसिनसहित डोङफेङले सञ्चालनमा ल्याएको यो प्लान्ट विश्वमै हालसम्मकै सबैभन्दा ठूलो एकीकृत डाइ–कास्टिङ कारखानाको रूपमा स्थापित भएको छ ।

आगामी अप्रिलदेखि ठूलो मात्रामा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस प्लान्टबाट उत्पादित कम्पोनेन्टहरू डोङफेङ ००७, ००८ तथा भोयाह ड्रीमरजस्ता मोडेलहरूमा पहिलोपटक प्रयोग गरिने कम्पनीको अनुमान छ ।

कारखानाले मुख्यतया ब्याट्री केसिङसहित न्यू–इनर्जी भेइकलका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट स्ट्रक्चरल कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्रीमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

परम्परागत उत्पादन विधिको तुलनामा डाइ–कास्ट ब्याट्री केसिङले ब्याट्री प्रणालीको सुरक्षा सुधार गर्नुका साथै गाडीको तौल र ऊर्जा खपत घटाउन तथा न्यू–इनर्जी भेइकलको ड्राइभिङ रेन्ज विस्तार गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

४७ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको यो कारखानाको निर्माण डोङफेङले नोभेम्बर २०२४ मा सुरु गरेको थियो । यसको मुख्य कारखाना भवन अगस्ट २०२५ मा १ अर्ब युआन (१४३.६ मिलियन अमेरिकी डलर) को कुल लगानीमा सम्पन्न भएको हो ।

हाल यो प्लान्टले वार्षिक दुई लाख अटोमोटिभ कम्पोनेन्ट उत्पादन गर्ने क्षमता राखेको छ । दोस्रो चरणमा विस्तार गरी थप चार उत्पादन लाइन निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । विस्तारपछि वार्षिक छ लाख कम्पोनेन्ट उत्पादन गर्न सकिनेछ ।

Share News