निर्वाचन आचारसंहिता बाधक बन्दा निर्माण व्यवसायी महासंघको चुनाव दुई महिना सर्‍यो

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको चुनावी सरगर्मीमा तत्कालका लागि 'ब्रेक' लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेसँगै महासंघको आसन्न निर्वाचन र साधारण सभा दुई महिनापछि धकेलिएको हो ।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष एवं आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी आङदोर्जे लामा (एडी) का अनुसार निर्वाचन आयोगले आचारसंहिताको अवधिमा कुनै पनि संघसंस्थाको साधारण सभा र निर्वाचन नगर्न निर्देशन दिएपछि महासंघले यस्तो निर्णय लिएको हो ।

निर्वाचनका लागि देशैभरबाट करिब २ हजार निर्माण व्यवसायीहरू काठमाडौं आउने तयारीमा थिए । अन्तिम समयमा आएर निर्वाचन रोकिँदा व्यवसायीहरूको रुपैयाँ खेर जाने जोखिम भएपछि महासंघले बेलैमा निर्णय लिएको लामाले बताए ।

‘हामीले निर्वाचन आयोगमा सोधपुछ गर्दा बैंक तथा वित्तीय संस्थाहरूको साधारण सभा समेत रोकिएको जानकारी पायौं,’ लामाले भने, ‘२ हजार साथीहरू काठमाडौं आउँदा प्रतिव्यक्ति न्यूनतम १० हजार मात्र खर्च भए पनि २ करोडभन्दा बढी खर्च हुन्छ । अन्तिम समयमा कार्यक्रम रोकिँदा व्यवसायी साथीहरूलाई  आर्थिक मर्का पर्ने भएकाले हामीले समयमै निर्णय लिएका हौं ।’

निर्वाचन आयोगले माघ ४ गते महासंघलाई पत्र लेख्दै सोही दिन राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेको स्पष्ट पारेको छ । ‘आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म आचारसंहिता लागू हुने अवधिभर साधारण सभा गर्न नमिल्ने हुँदा कार्यक्रम स्थगित गर्न अनुरोध छ,’ आयोगको पत्रमा उल्लेख छ ।

यसअघि तोकिएको मिति सरेपछि अब प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मात्रै महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन सरेसँगै चुनावीमा होमिएका व्यवसायीहरू अहिलेलाई आ-आफ्नो कार्यक्षेत्रमा फर्कने भएका छन् ।

null

Share News