एआई चिप विवादबीच चीन जाँदै जेन्सेन हुआङ, बजार जोगाउने प्रयास ?

अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक एआई चिपमा प्रतिबन्ध लगाएको थियो

एनभीडीयाका सीईओ जेन्सेन हुआङ । फाइल तस्बिर

काठमाडौं । एनभीडीयाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ फेब्रुअरीको मध्यतिर पर्ने चन्द्र नववर्ष (लुनार न्यू इयर) अघि आउने केही दिनमै चीन भ्रमण गर्ने तयारीमा छन् । यस विषयमा जानकारी भएका दुई स्रोतले सीएनबीसीलाई उक्त कुरा बताएका हुन् ।

यो भ्रमण यस्तो समयमा हुन लागेको हो, जब अमेरिकी चिप निर्माता एनभीडीयाले चिनियाँ बजारमा बिक्री गर्न सक्ने क्षमताबारे प्रश्नहरू कायमै छन् । एक समय एनभीडीयाको डेटा सेन्टर व्यवसायबाट आउने कुल आम्दानीको कम्तीमा पाँचौं हिस्सा चीनबाटै आउँथ्यो ।

अमेरिकी निर्यात प्रतिबन्धका कारण एनभीडीयाले आफ्ना सबैभन्दा उन्नत चिपहरू चीनमा बिक्री गर्न पाएको छैन । अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) विकासमा प्रयोग हुने चिप्समा बेइजिङमाथि आफ्नो अग्रता कायम राख्ने उद्देश्यले वाशिङ्टनले यी प्रतिबन्ध लगाएको हो ।

एक स्रोतका अनुसार हुआङ सोमबार बेइजिङमा आयोजना हुने एनभीडीयाको कम्पनी पार्टीमा सहभागी हुने अपेक्षा गरिएको छ । 

यात्रा योजनाबारे प्रत्यक्ष जानकारी भएको व्यक्तिका अनुसार हुआङले चीनका सम्भावित खरिदकर्ताहरूसँग भेटघाट गर्ने र अमेरिकी स्वीकृत एनभीडीया चिप्स चिनियाँ बजारमा आपूर्ति गर्दा देखिएका पछिल्ला प्राविधिक तथा आपूर्ति–सम्बन्धी चुनौतीहरूबारे छलफल गर्नेछन् ।

‘द इन्फर्मेसन’ ले गत साता स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको एच २००  एआई चिप्स स्थानीय रूपमा किन्ने अनुमति अनुसन्धानजस्ता सीमित प्रयोजनका लागि मात्रै दिने जनाएको थियो । उक्त रिपोर्टबारे बिहीबार सोध्दा चीनको वाणिज्य मन्त्रालयले यस विषयमा आफूलाई जानकारी नभएको बताएको छ ।

ब्लूमबर्गले यस साता सुरुमा नै हुआङको चीन भ्रमणको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । यद्यपि, एनभीडीयाले कार्यकारी तहको यात्रा योजनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

हुआङले गत वर्ष मुख्यभूमि चीन कम्तीमा तीन पटक भ्रमण गरेका थिए, जसमा जनवरीमा चन्द्र नववर्षको अवसरमा गरिएको भ्रमण पनि समावेश छ ।

अमेरिकाले सन् २०२२ को अक्टोबरमा पहिलो पटक चीनतर्फ उच्चप्रदर्शन कम्प्युटिङ र एआई चिप निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तत्कालीन राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत अमेरिकी वाणिज्य मन्त्रालयले राष्ट्रिय सुरक्षा कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।

त्यसपछि सन् २०२३ र २०२४ मा प्रतिबन्ध थप कडाइ गरिँदै लगियो । एनभीडीयाले चीनका लागि छुट्टै रूपमा विकास गरेका ए ८०० र एच ८०० जस्ता चिपहरू पनि पछिल्ला संशोधित नियमले प्रतिबन्धको दायरामा पारे ।

यसै क्रममा सन् २०२५ को अन्त्यतिर अमेरिकी सांसदहरूले एनभीडीया जस्ता कम्पनीलाई चीनमा शक्तिशाली एआई चिप बिक्री पूर्ण रूपमा रोक्ने उद्देश्यसहित थप कानुनी पहल अघि बढाए । यद्यपि ती प्रस्तावहरू कानुन बने/नबने पनि, व्यवहारमा निर्यात लाइसेन्स नपाउने अवस्था झन् जटिल बन्यो ।

उता सन् २०२६ को जनवरीमा चीनले पनि प्रतिक्रिया स्वरूप एनभीडीयाका एच २००जस्ता उन्नत एआई चिपहरूको आयातमा अवरोध सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी पक्षबाट सीमित अनुमति भए पनि चिनियाँ भन्सार र नियामक निकायले ती चिपहरू भित्रिन नदिएको बताइएको छ ।

एनभीडीया सन् १९९३ अप्रिल ४ मा स्थापना भएको हो । यो कम्पनी अमेरिकी इन्जिनियर जेन्सेन हुआङ र उनका दुई सह–संस्थापकले सुरु गरेका थिए । सुरुआतमा गेम खेल्न प्रयोग हुने ग्राफिक्स चिप बनाउने कम्पनी एनभीडीया अहिले एआई र डेटा सेन्टरका लागि अत्याधुनिक चिप बनाउने विश्वकै अगुवा कम्पनी बनेको छ ।

एनभीडीयाले सन् १९९९ मा अमेरिकी सेयर बजार नासडाकमा सूचीकृत हुँदै सर्वसाधारणका लागि सेयर कारोबार सुरु गरेको थियो ।

हाल एआई प्रविधिको माग तीव्र रूपमा बढेसँगै एनभीडीयाको व्यापार र सेयर मूल्यमा ठूलो उछाल आएको छ । सन् २०२६ को सुरुवातसम्म एनभीडीयाको बजार पूँजीकरण ९मार्केट क्याप० करिब ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले एनभीडीयालाई विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमध्ये एक बनाएको छ ।

Share News