काठमाडौं । एसियन हाइड्रोपावरको सेयरको लक इन अवधि फागुन १३ मा सकिँने भएको छ । कम्पनीको संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि सुरक्षित गरिएको (लक इन) सेयरको अवधि आगामी फागुन १३ गते समाप्त हुने भएको हो ।
कम्पनीले जारी गरेको सूचनाअनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम सार्वजनिक निष्कासन गरिएको सेयर बाँडफाँड भएको मितिले तीन वर्ष पूरा भएपछि लक इन अवधि स्वतः समाप्त हुने व्यवस्था छ । सोही प्रावधानअनुसार कम्पनीको लक इन अवधि २०८२ फागुन १३ गते सकिन लागेको हो ।
कम्पनीका अनुसार कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयर कारोबारका लागि फुकुवा हुनेछ । जसमध्ये संस्थापक सेयरधनीहरूको २२ लाख २० हजार कित्ता, संस्थाका कर्मचारीहरूको १६ हजार ८०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको ३ लाख ४० हजार कित्ता सेयरको लकइन अवधि सकिनेछ ।
लक इन अवधि समाप्त भएपछि उक्त सेयर सर्वसाधारण सेयर सरह दोस्रो बजारमा कारोबारमा आउनेछ । एसियन हाइड्रोपावरको सेयर रजिस्ट्रार तथा निष्कासन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।