५१.६६ सेकेन्डमा ५० शब्द उल्टो उच्चारण गर्दै कृष्ण पाण्डेयले कायम गरे दोस्रो पटक विश्व कीर्तिमान

काठमाडौं । काठमाडौं पूर्वविश्व कीर्तिमानी कृष्ण पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका छन् । काठमाडौं मोडेल सेकेन्डरी स्कूल, बागबजारमा भएको एक कार्यक्रममा पाण्डेयले दोस्रो पटक विश्व रेकर्ड्स कीर्तिमानी राखेका हुन् । 

‘फास्टेस्ट टाइम टु स्पेल ५० वर्ड्स ब्याकवार्डस्’ शीर्षकको रेकर्ड प्रयासमा बिहीबार पाण्डेले ५१.६६ सेकेण्डमा ५० वटा शब्द उल्टोबाट उच्चारण गरेका थिए ।  

कार्यक्रममा स्वतन्त्र साक्षी, आधिकारिक समयमापक, व्यावसायिक फोटोग्राफी तथा भिडियो डकुमेन्टेसनको व्यवस्था गरिएको थियो । कार्यक्रम पश्चात सबै प्रमाण सामग्री गिनिज वर्ल्ड रेकर्ड्समा आधिकारिक प्रमाणीकरणका लागि पेस गरिएको छ ।

null

कृष्ण पाण्डेय ।

यसअघि अमेरिकाको न्युयोर्कमा गिनिज वर्ल्ड रेकर्ड्स हासिल गरेको पाण्डेयले दोस्रो पटक नेपालबाटै वर्ल्ड रेकर्ड राख्न पाउँदा खुसी भएको बताए । 

‘आफ्नै भूमिमा वर्ल्ड रेकर्ड्सका लागि तयारी र प्रयास गर्नु मेरो लागि विशेष सम्मान र राष्ट्रिय गौरवको विषय हो,’ उनी भन्छन्,यो प्रयास केवल अर्को रेकर्ड्स थप्ने विषय मात्र होइन । नेपाली प्रतिभाको क्षमता विश्वस्तरमा प्रमाणित गर्दै युवाहरूलाई प्रेरित गर्न गरिएको हो ।’

कार्यक्रममा बोल्दै काठमाडौं मोडल कलेजका अध्यक्ष रामेश्वर अर्यालले विद्यार्थीकालमा पनि अत्यन्तै मिहिनेती र प्रतिभाशाली रहेको बताउँदै आफ्नो क्षमतालाई विश्व रेकर्डमा राख्न सफल भएको भन्दै बधाई दिएका थिए । 

‘पहिलो पटक उहाँले रेकर्ड राखिसक्नुभयो, दोस्रो पटकका लागि नेपाल रोजेको र त्यसमा आफ्नो क्याम्पस आयोजक रहन पाएको भन्दै यो सौभाग्य हो । उहाँको प्रतिभा, उहाँको क्षमता र उहाँको सफलताले कुनै पनि कुरा असम्भव छैन भन्ने प्रमाणित गर्नुभएको छ,’ उनले भने । 

अर्यालले पाण्डेको प्रेरणाबाट आफ्नो कलेजमा अध्ययनरत विद्यार्थी भाइबहिनीलाई पनि अभिप्रेरित हुने अपेक्षा व्यक्त गरेका छन् । 

पाण्डेयले पहिलो ‘गिनिज वर्ल्ड रेकर्ड्स’ सन् २०१३ मा राखेका थिए त्यो बेला पाण्डेयले  एक मिनेटमा ३६ वटा विपरीत शब्द हिज्जे उच्चारण गरि वर्ल्ड रेकर्ड राखेका थिए । 

null​​​​​​​

पाण्डेयलाई रिजउड नेपाली समाजद्वारा २०१४ अप्रिलमा भएको कार्यक्रममा सर्टिफिकेट प्रदान गरिएको थियो । त्यो बेला उनलाई १ मिनेटमा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा मात्र गलत भएका थिए । त्योभन्दा अगाडि भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा विपरीत शब्द हिज्जे उच्चारण गरी वर्ल्ड रेकर्ड राखेका थिए । 

गिनिज वर्ल्ड रेकर्ड्सका कडा नियम, मापदण्ड तथा प्रमाणीकरण प्रक्रियाअनुसार सञ्चालन गरिएको थियो ।  एमआईटी कलेजको आयोजना तथा  काठमाडौँ मोडेल सेकेन्डरी स्कूलको सहकार्य तथा बेस्ट वेस्टर्न प्लसले हस्पिटालिटी सहयोगमा कार्यक्रम गरिएको थियो ।

Share News