शुक्रवारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । शुक्रवार (भोलि) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो । 

शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरूमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए । 

वर्षा मध्यम खालको हुने र त्यो शनिवार बेलुकासम्म मात्रै रहने उनको भनाइ छ ।

शाखाका अनुसार माघ १३ गते मंगलवार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलवार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए । 

यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । 

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ । यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

Share News