उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

गण्डकी । प्रतिनिधिसभा सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् । 

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडाबाट  चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङलाई उम्मेदवार बनाएको छ ।

नेपाली कम्युुनिष्ट पार्टीले चुनावको तयारीस्वरुप बुधबार उम्मेदवार एवं जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने बताएको छ । पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी तथा उम्मेदवारले घरदैलो थाल्ने छन् । 

नेकपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज यहाँ बैठक हुँदैछ । रास्वपाले  क्षेत्र नं १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ ।   

Share News