काठमाडौं । इटालीयन लक्जरियस स्पोर्ट्स कार निर्माता ल्याम्बोर्गिनीले मंगलबार सन् २०२५ मा विश्वभर १० हजार ७४७ सवारीसाधन डेलिभरी गरेको जनाएको छ । यो अघिल्लो वर्षको प्रदर्शनभन्दा केही सुधारसहित अहिलेसम्मकै उच्च कीर्तिमान हो ।
जर्मनीको फक्सवागन समूह अन्तर्गतको ल्याम्बोर्गिनीले उक्त सशक्त प्रदर्शनको श्रेय आफ्नो हाइब्रिड रणनीति तथा सबै क्षेत्रबाट आएको मजबुत नतिजालाई दिएको छ ।
क्षेत्रगत रूपमा युरोप, मध्यपूर्व र अफ्रिका (ईएमईए) अग्रस्थानमा रहँदै ४ हजार ६५० गाडी डेलिभरी भएका छन् । त्यसपछि अमेरिकामा ३ हजार ३४७ र एसिया–प्रशान्त क्षेत्रमा २ हजार ७५० गाडी डेलिभरी भएका छन् ।
जटिल विश्वव्यापी वातावरणबीच पनि ब्रान्डलाई अलग पहिचान दिलाउन सक्षम भएको प्रमाण यी कीर्तिमानी डेलिभरीहरूले पुष्टि गरेको ल्याम्बोर्गिनीका प्रमुख कार्यकारी अधिकृत स्टेफान विन्केलमानले विज्ञप्तिमा बताएका छन् ।