काठमाडौं । नेपाल आयल निगमले लाभांश वितरण गर्ने भएको छ । आयल निगमको माघ ४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
निगमको तथ्याङ्क अनुसार चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।
लाभांश प्रस्ताव पारित गर्न निगमले माघ २८ गते आयल निगमको सभा हल बबरमहल काठमाडौंमा अपरान्ह १ बजे ४४औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।
निगमको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण, लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक÷एक जना प्रतिनिधि तोक्नेछ ।
यसअघि निगमले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । साथै गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको थियो भने राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान पुर्याएको जनाएको छ ।
निगमले वार्षिक रूपमा पेट्रोल ६३ हजार किलोलिटर, डिजेल २ लाख २२ हजार किलोलिटर, हवाई इन्धन १८ हजार किलोलिटर र ४६ हजार टन एलपी ग्यास आपूर्ति गर्दै आएको छ ।