काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो ।
हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।
श्रेष्ठ अध्यक्षमा नियुक्त भएसँगै सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ ।
सिबिफिनमा पदाधिकारी पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ । सिबिफिनको अध्यक्ष वाणिज्य बैंकका अध्यक्षमध्येबाटै चयन गरिने व्यवस्थाअनुसार वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो ।