काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । पोखरेलले मंगलबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै आएका छन् । २०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका प्रदिप पौडेलसँग पराजित भएका थिए भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गरेका थिए । यसपटक पनि काठमाडौं– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ ।
शिर्ष नेताहरुको प्रतिस्पर्धा हुने भएकोले काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।