ओली-बालेन ‘ब्याटल’ अर्थात् सक्ने र सकाउने खेल

यो प्रतिस्पर्धाले ओली र बालेनको राजनीतिक भविष्य दिशा निर्देश पनि गर्नेछ ।

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले झापा–५ बाट ओलीलाई र रास्वपाले बालेनलाई टिकट दिएसँगै उनीहरूबीच अब फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जितका लागि भीडन्त हुने भएको हो । दुवै जनाले झापा–५ मा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन् । 

उसो त नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि सोही क्षेत्रमा युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाए पनि अहिलेको मुख्य लडाइँ ओली र बालेनबीच हुने बहस चुलिएको हो । 

झापा-५ लामो समयदेखि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आधार क्षेत्रका रूपमा परिचित छ । यस क्षेत्रले ओलीलाई ६ पटक सांसद र तीन पटक प्रधानमन्त्री बनायो । जसका कारण झापा–५ लाई एमालेको ‘सुरक्षित निर्वाचन क्षेत्र’ भनेर एमालेजनले बुझ्छ । तर, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रमा बालेनको प्रवेशले राजनीतिक समीकरणलाई पूर्णतः बदलिदिने बहस उब्जिएको छ । 

यो प्रतिस्पर्धा ओली र बालेनबीचको मात्रै होइन, यो परम्परागत दलगत राजनीतिसँग नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाबीचको टकराव पनि हो । एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा जाँदैछ भने रास्वपाले पनि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । उनीहरू दुई जनाबीच को प्रधानमन्त्री बन्छ भन्ने प्रतिस्पर्धा पनि हो यो । 

यो प्रतिस्पर्धा ओली र बालेनबीचको मात्रै होइन, यो परम्परागत दलगत राजनीतिसँग नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाबीचको टकराव पनि हो । एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा जाँदैछ भने रास्वपाले पनि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।

यसरी गर्दैछन् तयारी 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा–५ मा पुगेर मंगलबार  मनोनयन दर्ता गरेका छन् ।  दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो ।

nullमनोनयन दर्ता गर्न जाँदै बालेन्द्र शाह (बालेन) । 

ओलीले पनि सोही किसिमले मनोनयन दर्ता गरेका छन् । झापा-५ अहिले सबैको चासोको निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । किनकि बालेनले जितेमा रास्वपाबाट बालेन प्रधानमन्त्री बन्नेछन् भने ओलीले जितेको खण्डमा एमालेबाट ओली नै प्रधानमन्त्री बन्नेछन् । दुवै जना जसरी पनि जित्ने योजना र रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन् । 

बालेनको सचिवालय रास्वपाका स्थानीय नेतृ बिन्दु सिटौला ‘लक्की’को घरमा राखिएको छ । बालेनले तीनवटा घर भाडामा लिएर चुनावी रणनीति र योजना बनाइरहेका छन् । डिजिटल युगमा प्रविधिको व्यापक प्रयोग गरेर मतदातालाई रिझाउन सक्ने खुबी भएका नेताका रूपमा बालेन चर्चित छन् ।

उनले एउटा घरमा कन्टेन्ट क्रियटर र युटुबर तथा सूचना प्रविधिविज्ञहरूलाई राखेका छन् । त्यहाँ उनले दुई दर्जन बढी कन्टेन्ट क्रियटरहरूलाई राखेर २४सै घण्टा उनको चुनावी प्रचारप्रसार गराइरहेका छन् । झापा-५ का मतदाता र सामाजिक सञ्जाल प्रयोगकर्ताको  मनोविज्ञान र मनोभावना बुझेर त्यो टिमले बालेनका चुनावी प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गरिरहेको छ । 

दोस्रो घरमा बालेन आफै बसिरहेका छन् । जसको नाम उनले ‘द कमाण्ड सेन्टर’ राखेका छन् ।  बालेनले त्यही घरमा उच्च तहका नेतासँग भेटघाट गरिरहेका छन् । यो घरमा सामान्य कार्यकर्ताको पहुँच छैन । बालेनको सुरक्षा र गोपनीयतालाई बढी प्राथमिकता दिएर चुनावी रणनीति यही घरबाट अगाडि बढिरहेको छ ।

यस्तै, तेस्रो घरमा बालेन निकट नेताहरू बसिरहेका छन् । त्यहाँबाट नयाँ चुनावी रणनीति तथा योजना बनाउने र कार्यान्वयनको पक्ष हेर्ने गरी काम भइरहेको रास्वपाका एक नेताले बताए । यो घरलाई ‘दि इम्प्लिमेन्ट हाउस’को उपमा दिइएको छ । मतदाताको माग र चाहना अनुसारको एजेण्डाहरू मतदातासम्म पुर्याउने काम त्यही घरबाट भइरहेको छ । 

मंगलबार मनोनयन दर्ता गर्न जाँदा बालेनको ठूलो समर्थकहरू रहेको भीडबाट बुझ्न सकिन्छ । बालेनमा एउटा उत्साह र जित्न सक्ने मनोबल प्रष्ट देखिन्थ्यो । 

बालेनले चुस्त रूपमा चुनावी प्रचारप्रसारमा होमिँदा केपी शर्मा ओली भने परम्परागत भाषण र नारामै व्यस्त देखिएका छन् । सोमबार झापामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीले बालेन आफूसँग चुनाव लड्न आएर चर्चा कमाउन खोजेको धारणा राखेका थिए । उनले बालेनको जस्तो चुनावी रणनीति बुनेका छैनन् । तर, पाका राजनीतिज्ञ भएकोले आफ्नो सकेसम्मको अनुभव ओलीले प्रयोग गर्नेछन् । 

मंगलबार मनोनयन दर्ता गर्न पुगेका ओलीले एमालेलाई जिस्काएमा महँगो पर्ने अभिव्यक्ति दिएका थिए । त्यसले नयाँ संशय भने सिर्जना गरेको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धा रोचक रूपमा हेरिएको छ । यो एउटा सांसदको सिट जित्नेभन्दा पनि को प्रधानमन्त्री बन्न सफल हुने र आगामी राजनीतिक भविष्य कस्तो बन्ने भन्ने विषय पनि निर्क्योल गर्ने लडाइँ हो । 

nullमनोनयन दर्ता गर्न जाँदै केपी शर्मा ओली । 

सक्ने र सकाउने खेल

एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धा रोचक रूपमा हेरिएको छ । यो एउटा सांसदको सिट जित्नेभन्दा पनि को प्रधानमन्त्री बन्न सफल हुने र आगामी राजनीतिक भविष्य कस्तो बन्ने भन्ने विषय पनि निर्क्योल गर्ने लडाइँ हो । 

ओलीले चुनाव जितेको खण्डमा ओली नै प्रधानमन्त्री बन्नेछन् भने बालेनले जितको खण्डमा रास्वपाले उनलाई नै प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनेछ । ओलीको यो सातौं पटक संघीय संसदको यात्राको तयारी हो । वि.सं २०४८ सालको आम निर्वाचनबाट संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका ओली २०८२ को निर्वाचनमा विजयी भएमा नेपाली राजनीतिमा दुर्लभ र ऐतिहासिक कीर्तिमान कायम गर्ने अवस्थामा पुग्नेछन् । 

ओलीले २०४८ सालको आम निर्वाचनमार्फत आफ्नो संसदीय यात्रा प्रारम्भ गरेका थिए । त्यसयता २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा उनले संसदमा उपस्थिति जनाइसकेका छन् । यद्यपि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । सो निर्वाचन बाहेकका सबै चुनावमा सफल रहँदै आएका ओलीले २०८२ को निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको अर्को निर्णायक मोडका रूपमा बुझेका छन् । 

यो प्रतिस्पर्धा नेकपा एमालेका लागि पनि रणनीतिक महत्त्वको विषय भएको एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् । एमाले नेतृत्वमा ओलीको निरन्तर प्रभाव, संगठनमाथिको पकड र चुनावी परिचालन क्षमताले उनलाई अझै पनि प्रमुख चुनावी अनुहारका रूपमा स्थापित गरेको उनको धारणा छ । 

२०८२ को निर्वाचनमा एमालेले ओलीलाई केन्द्रमा राखेर चुनावी रणनीति बनाएकोले पनि यस पटकको निर्वाचनको महत्त्व रहेको भण्डारीले बताए । यसले नेकपा एमालेको संगठनात्मक शक्ति, चुनावी रणनीति र भावी नेतृत्व संरचनालाई पनि प्रभाव पार्नेछ । नेता भण्डारीका अनुसार ओलीको जितले पार्टीभित्र स्थायित्व देखाउनेछ । संगठनात्मक एकता र नेतृत्वको निरन्तरताको सन्देश पनि यसले दिनेछ । 

ओली बालेनसँग पराजित भएमा उनको संसदीय यात्रामा सम्भवतः बिराम लाग्नेछ । विगतमा पटक–पटक झापा-५ बाटै विजय हासिल गरेर संसदीय यात्रा तय गरेका ओलीमाथि बालेनको ब्रेक लागेको खण्डमा उनी नेपाली राजनीतिमै एक असफल नेताको रुपमा दर्ज हुनेछन् ।

राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार २०८२ को आम निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक राजनीतिक परिवेशमा हुँदैछ । नयाँ दलहरूको उदय, वैकल्पिक राजनीतिक धार, युवा मतदाताको बढ्दो भूमिका र सामाजिक सञ्जालमार्फत हुने राजनीतिक प्रभावले चुनावी परिणामलाई अनिश्चित बनाइरहेको छ । यस्तो अवस्थामा ओलीजस्ता अनुभवी नेताको चुनावी क्षमता परीक्षणको घडीका रूपमा पनि यो निर्वाचनलाई हेरिएको छ।

यदि ओली बालेनसँग पराजित भएमा उनको संसदीय यात्रामा सम्भवतः बिराम लाग्नेछ । विगतमा पटक–पटक झापा-५ बाटै विजय हासिल गरेर संसदीय यात्रा तय गरेका ओलीमाथि बालेनको ब्रेक लागेको खण्डमा उनी नेपाली राजनीतिमै एक असफल नेताको रुपमा दर्ज हुनेछन् । उनी प्रधानमन्त्री रहेको बेला भएको जेनजी आन्दोलनकै कारण उनीमाथि ठूलो बोझ र प्रश्नहरूको भारी छ । उनले जितेको खण्डमा उनी त्यो भारी सहजै फुकाल्नेछन् भने पराजित भएको खण्डमा भने उनले जीवनभर त्यो भारी बोक्नु पर्नेछ । 

चुनावी माहोलमा बालेन पराजित भएको खण्डमा उनको आगामी राजनीतिक यात्रामा पनि प्रश्न उठ्नेछ । उनी राजनीतिमै सक्रिय रहन्छन् या पुरानै र्याप गायकको पेशामा फर्किन्छन् भन्ने विषय पनि रोचक रूपमा हेर्न मिल्नेछ। 

झापामा बालेनलाई रास्वपाको बलियो संगठनात्मक प्रभावले साथ दिइरहेको छ । रास्वपाले जिल्लामा र्यापिड एक्सन टिम (आरएटी) पनि गठन गरेको छ । कुनै ठाउँमा कुनै समस्या देखिएमा त्यो टिम गएर तत्काल समस्या समाधान गर्नेछ । चुनावी कमाण्ड सम्हाल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा मुल सचिवालय समिति गठन गरिएको छ । झापा-५ ओलीको पूरानो राजनीतिक थलो भए पनि बालेनलाई खासै ठूलो समस्या नभएको उनको एक सचिवालय सदस्यले जानकारी दिए । 

nullमनोनयन दर्ता गर्दै ओली र बालेन । उनीहरू दुवै जनाले एउटै रङको टोपी लगाएका छन् । 

रोचक ‘ब्याटल’

ओली र बालेन प्रतिस्पर्धा गर्ने भएपछि यो ब्याटल कसले जित्छ भन्ने विषय रोचक र चासोका रुपमा हेरिएको छ । धेरैलाई झापा-५ लाई ‘इपिसेन्टर’का रूपमा व्याख्या गरेका छन् । ओलीले विगतदेखि नै लड्दै आएको क्षेत्र र उनको घर पनि झापामै भएकोले धेरैले ओलीले जित्न सक्ने आधार र तर्क गरिरहेका छन् । 

किनकि ओली यही भूगोलमा २०४८ सालदेखि चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । उनले एक पटक बाहेक सबै प्रतिस्पर्धामा जित हासिल गरेका छन् । उनलाई यही क्षेत्रले गृहमन्त्रीदेखि तीन पटक प्रधानमन्त्री पनि बनाइसकेको छ ।  २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त ओलीले देशभरका उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए । 

उनले २०७९ मा ५२ हजार ३१९ मत ल्याएर आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए । २०७९ सालको निर्वाचनमा सो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलले गठबन्धन गरेर ओलीसँग प्रतिस्पर्धा गरे पनि जित हासिल गर्न सकेका थिएनन् । 

२०७४ को निर्वाचनमा पनि उनले ५७ हजार १३९ मत पाएर विजयी भएका थिए । त्यतिबेला पनि नेपाली कांग्रेसका नेता खगेन्द्र अधिकारीसँग उनको प्रतिस्पर्धा भएको थियो । अधिकारीसँग उनले २८ हजार ८४२ मतान्तरले जित हासिल गरेका थिए । ओली त्यसैले पनि यो क्षेत्रमा बलियो उम्मेदवारका रूपमा परिचित छन् । ओलीले झापा–५ लाई आफ्नो ‘सेफ ल्याण्डिङ’ निर्वाचन क्षेत्रका रुपमा चिन्दछन् ।

बालेन युवाहरूमाझ परिचित पात्र हुन् । झापा उनको ससुराली हो । मंगलबार उनको मनोनयन दर्ताको देखिएको समर्थकहरूको भीडले पनि झापाले उनलाई खुला हृदयले स्वागत गरेको बुझ्न सकिन्छ । जहाँ वृद्ध, वयस्क तथा युवाहरूको पनि ठूलो भीड देख्न सकिन्थ्यो । राजनीतिक परिवर्तन, रूपान्तरण र युवाको पक्षमा लाग्नेहरू बालेनको समर्थक बनेर उनलाई मतदान गर्न सक्ने प्रष्ट देखिन्छ । पछिल्लो सक्रिय विभिन्न कन्टेन्ट क्रियटरहरूले गरेका विभिन्न सर्वेक्षणहरूमा पनि अधिकांशले नयाँ अनुहारलाई अवसर दिने धारणा राखिरहेका छन् । यसले बालेनलाई धेरै सहज हुने बुझ्न सकिन्छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो जमात ओलीप्रति रुष्ट र असन्तुष्ट छ । त्यो जमात ओलीविरुद्ध आक्रोश पोख्दै आएको छ । बालेनले त्यो जमातलाई आफ्नो पक्षमा राखेर विश्वास दिलाउन सकेमा उनले ओलीलाई सहजै पाखा लगाउन सक्नेछन् । एमालेको गढका रूपमा चिनिने झापा–५ बालेनका लागि त्यति सहज भने पक्कै हुने छैन । ओली र बालेनबीचको यो लडाइँ नेपाली राजनीतिले नेतृत्व परिवर्तन, पुस्तान्तरण र जनअपेक्षाबीच कसरी सन्तुलन कायम गर्छ भन्ने विषय पनि हो । 

null२०७९ असारमा ओलीले बालेनलाई तबला उपहार दिँदै । 

तबला उपहारदेखि सक्ने खेलसम्म

बालेन शाह केपी शर्मा ओली नै उम्मेद्वार बनेको झापा-५ मा पुग्नुको पछाडि धेरै कारण र घटनाक्रमहरू छन् । यसका पछाडि यी दुई पात्रबीचको माया–प्रेम, सदभाव र घृणाको खेलसम्मका घटनाहरू केलाउनुपर्छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको करिब तीन महिनापछि ओलीको तत्कालीन निवास बालकोट पुगे । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिए । ओलीले उनलाई तबला उपहार दिएपछि त्यो राजनीतिक बहसको विषय बन्यो । धेरैले अब ओली र बालेनबीच सुमधुर सम्बन्ध हुने विश्लेषण गरे । 

तर, भइदियो उल्टो । ओलीले बालेनलाई दिएको उपहार फापेन । ओलीकै भाषामा  तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयम हो । उनले राम्रो राजनीतिज्ञ बनून् भनेर आफूले तबला उपहार दिएको बताउँदै आएका थिए । तर, अन्ततः बालेन ओलीमाथि नै हावी भए । 

त्यसका पछाडि पनि केही कारणहरू छन् । 

काठमाडौंको मेयर हुँदा बालेन नयाँ बानेश्वर क्षेत्रमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चाहन्थे । बागमती नदीमा अतिक्रमण गरेर बसेका सुकुम्वासीलाई व्यवस्थित ठाउँमा सार्न चाहन्थे । तर, ओलीले त्यसमा साथ दिएनन् । त्यसपछि बालेनको  कहिले सडकमा व्यापार गर्ने व्यवसायीलाई हटाउने, कहिले धरहराको पार्किङको विषयमा त कहिले काठमाडौंको फोहोर फालिने बञ्चरेडाँडा र सिसडोल लगायत विषयमा ओलीसँग जुहारी चलिरह्यो । 

उनीहरू दुई जनाको सक्ने र सकाउने खेलमा झापा-५ का मतदाताले कसलाई सकाउँछन् र कसलाई जिताउँछन् भन्ने विषय भने हर्न बाँकी छ । 

त्यही जुहारीका कारण एमालेबाट काठमाडौं महानगरको उपप्रमुख बनेकी सुनिता डंगोलसँग पनि बालेनको सम्बन्ध बिग्रियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले बालेनलाई महानगरमा साथ नदिने वातावरण सिर्जना भयो । जसका कारण बालेन समयमै काठमाडौं महानगरको बजेट ल्याउन असफलमात्रै भएनन्, उनले संघीय सरकारबाट गतिलो र निष्पक्षरूपमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृतसमेत पाएनन् । 

त्यसको रिस बालेनले सामाजिक सञ्जालमार्फत पोखे । सामाजिक सञ्जाल फेसबुकमा लाखौं समर्थकको साथ पाएका बालेनले ओलीको खुलेरै आलोचना गरे । बालेनको स्टाटसलाई उनका समर्थकले समर्थन जनाउँदै ओलीको आलोचना गर्न थाले । त्यसले व्यक्तिगत रुपमा ओलीको राजनीतिक जीवनमाथि ठूलो प्रभाव पर्दै गयो । अन्ततः उनी प्रधानमन्त्री भएकै बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । ओलीसहितको मन्त्रिमण्डलले हेलिकोप्टरमार्फत भाग्नुपर्ने अवस्था सिर्जना भयो । 

त्यसपछि अन्तरिम सरकार गठन भएर फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा भयो । सुरुमा चुनावमा भाग नलिने घोषणा गर्दै आएका ओली अहिले चुनावी प्रतिस्पर्धामा होमिन बाध्य भएका छन् । उनका खुमखार आलोचक बालेन पनि उनकै क्षेत्र झापा-५ मा पुगेका छन् । अब उनीहरू दुई जनाको सक्ने र सकाउने खेलमा झापा–५ का मतदाताले कसलाई सकाउँछन् र कसलाई जिताउँछन् भन्ने विषय भने हर्न बाँकी छ । 

Share News