काबुलमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट, एक चिनियाँसहित सातको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार एक चिनियाँ रेस्टुरेन्ट बाहिर भएको विस्फोटमा एक चिनियाँ नागरिकसहित सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जरदानका अनुसार राजधानीको सहर–ए–नाव क्षेत्रमा भएको विस्फोटमा मृत्यु हुनेमध्ये एक जना चिनियाँ नागरिक र छ जना अफगान नागरिक रहेका छन् ।

प्रवक्ताका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे विस्फोट भएको थियो ।

काबुलस्थित आपतकालीन अस्पतालका चिकित्सकहरूले बीबीसीलाई दिएको जानकारीअनुसार विस्फोटपछि चार महिला र एक बालकसहित २० जना घाइतेलाई अस्पताल ल्याइएको थियो ।

प्रहरी प्रवक्ता खालिद जरदानले मृतक चिनियाँ नागरिक मुस्लिम रहेको र उनले आफ्नी पत्नी तथा एक अफगान सहयोगीसँग मिलेर चिनियाँ नुडल रेस्टुरेन्ट सञ्चालन गर्दै आएको बताए ।

उनका अनुसार विस्फोट रेस्टुरेन्टको भान्साको नजिक भएको थियो र घटनाको अनुसन्धान जारी छ ।

यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले उक्त विस्फोटको जिम्मेवारी लिएको छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले रेस्टुरेन्ट बाहिर भएको विस्फोटको निन्दा गरेका छन् ।

Share News