काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । पुस २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले अब माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ ।
स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका–२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका–१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् ।