शाओमीले सार्वजनिक गर्‍यो रेड्मी नोट १५ सिरिज, ४ मोडेलसहित फ्ल्यागशिप फिचर

काठमाडौं । शाओमीले नेपालमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न आवश्यकताका प्रयोगकर्तालाई लक्षित गर्ने कम्पनीले जनाएको छ ।

यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १० प्रतिशत एसआईसी सामग्री रहेको छ । १०० वाट हाइपरचार्ज प्रविधिका कारण यो फोन करिब ४० मिनेटमै पूर्ण चार्ज हुने बताइएको छ भने २२.५ वाट रिभर्स चार्जिङ सुविधासमेत उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलो पटक प्रयोग गरिएको यस प्रविधिले सानो आकारमै बढी ऊर्जा क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ ।

शाओमीका अनुसार प्रो मोडेलहरूमा प्रयोग गरिएको ब्याट्री शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्न सक्षम छ, जुन करिब ६ वर्षको सामान्य प्रयोग बराबर हो । यी मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण प्राप्त गरेका छन् भने २.५ मिटर ड्रप प्रतिरोध क्षमताका लागि एसजीएस प्रमाणनसमेत हासिल गरेका छन् ।

रेड्मी नोट १५ प्रो+ ५जी स्न्यापड्रागन ७ एस जेन ४ प्रोसेसरमा आधारित छ र यसमा शाओमी हाइपरएआई, अफलाइन कम्युनिकेसन सुविधा तथा शाओमी सर्ज टी१एस ट्युनर समावेश गरिएको छ । फोटोग्राफीका लागि २०० मेगापिक्सेल प्राइमरी क्यामेरा, ओआईएस र २x तथा ४x अप्टिकल–लेभल इन–सेन्सर जुम सुविधा दिइएको छ । यसमा विश्वमै पहिलो पटक २०० मेगापिक्सेल एचपीई इमेज सेन्सर प्रयोग गरिएको कम्पनीको दाबी छ ।

यस फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले दिइएको छ, जसले ३,२०० निट्स पिक ब्राइटनेस प्रदान गर्छ भने डुअल स्पिकरले ४०० प्रतिशतसम्म भोल्युम बुस्टसहित इमर्सिभ मल्टिमिडिया अनुभव दिने बताइएको छ । साथै, शाओमी आइसलुप कूलिङ सिस्टम प्रयोग गरिएको छ, जसले तातो नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २०० मेगापिक्सेल क्यामेरा, समान डिस्प्ले र आईपी रेटिङ दिइएको छ तर यसमा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन–कार्बन ब्याट्री, ४५ वाट चार्जिङ तथा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभ जस्ता एआई टुलहरू यसमा उपलब्ध छन् ।

त्यस्तै रेड्मी नोट १५ ५जी रेड्मी नोट सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, आईपी६६ वाटर रेसिस्टेन्स, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा समावेश गरिएको छ ।

शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध गराइने जनाएको छ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी का लागि ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। रेड्मी नोट १५ प्रो ५जी को १२ जीबी + ५१२ जीबी र ८ जीबी + २५६ जीबी भेरियन्टको मूल्य क्रमशः ५६ हजार ९९९ र ४९ हजार ९९९ रुपैयाँ छ। त्यसैगरी रेड्मी नोट १५ ५जी को मूल्य १२ जीबी + ५१२ जीबी का लागि ४६,९९९ र ८ जीबी + २५६ जीबीका लागि ३९ हजार ९९९ रुपैयाँ तथा रेड्मी नोट १५ ४जीको मूल्य ८ जीबी + २५६ जीबीका लागि ३५ हजार ९९९ र ६ जीबी + १२८ जीबी का लागि २९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

Share News