काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स (एआरई जीपी) को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।
टीभीएस अपाचे सिरिजको २० वर्षे यात्राको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सातुङ्गलस्थित सवारी साधन तालिम तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको हो । छनोट चरणमा ६० भन्दा बढी चालक सहभागी हुँदा ३०० भन्दा बढी मोटरस्पोर्ट्स पारखी दर्शकको उपस्थिति रहेको थियो ।
कार्यक्रमअन्तर्गत सहभागी चालकहरूले व्यावसायिक रूपमा तयार पारिएको १० मोडयुक्त रेसिङ ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए । चालकहरूको मूल्यांकन सबैभन्दा छिटो एक फन्को समयका आधारमा गरिएको थियो । प्रतियोगिता १६० घनसेन्टिमिटर, २०० घनसेन्टिमिटर र ३१० घनसेन्टिमिटर गरी तीन वर्गमा सञ्चालन गरिएको थियो ।
प्रत्येक वर्गका शीर्ष तीन चालकलाई भारतको चेन्नईस्थित मद्रास अन्तर्राष्ट्रिय रेसिङ सर्किटमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्रदान गरिएको छ । साथै, उनीहरूलाई २५ हजार रुपैयाँ नगद पुरस्कार र टीभीएस कम्पनीका विशेष सवारी सुरक्षात्मक सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।
१६० घनसेन्टिमिटर वर्गमा सुजन थापा मगर, २०० घनसेन्टिमिटर वर्गमा अभिनव राज मल्ल र ३१० घनसेन्टिमिटर वर्गमा दिलिप दनुवार विजेता बनेका छन् । छनोट चरणका विजेताहरू अब सन् २०२६ को अप्रिलमा आयोजना हुने टीभीएस अपाचे रेसिङ अनुभवको ग्रान्ड फिनालेमा सहभागी हुनेछन् ।
कार्यक्रमका क्रममा टीभीएस रेसिङका अनुभवी चालकहरूद्वारा सहभागीहरूलाई व्यावसायिक रेसिङसम्बन्धी तालिम तथा मार्गदर्शन प्रदान गरिएको थियो । दिनभर सञ्चालन भएको कार्यक्रममा साहसिक प्रदर्शन, जिमखाना अभ्यास तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए ।
टीभीएस मोटर कम्पनीका अधिकारीहरूले नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल संस्कृति र मोटरस्पोर्ट्सप्रतिको आकर्षणलाई ध्यानमा राख्दै आगामी दिनमा यस्ता गतिविधिहरूलाई थप विस्तार गर्ने बताएका छन् ।