कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवमा रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’ सम्पन्न

काठमाडौं । कर्पोरेट समाचारले पहिलो वार्षिकोत्सव रोयल इन्फिल्डसँगको सहकार्यमा विशेष कार्यक्रमसहित सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा कर्पोरेट समाचार र रोयल इन्फिल्डले संयुक्त रूपमा ‘लेडिज बाइक राइड’ आयोजना गरेका हुन् ।

रोयल इन्फिल्डको शोरुमबाट सुरु भएको उक्त राइडमा चर्चित नायिकाहरू स्वस्तिमा खड्का र प्रियना आचार्य ‘मुन्नी’ प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा महिलाहरूको आत्मविश्वास, साहस र सशक्तीकरणलाई केन्द्रमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले कर्पोरेट समाचारलाई पहिलो वार्षिकोत्सवको शुभकामना दिँदै महिलाहरूले बुलेट बाइक कुदाएको देख्दा आफ्ना कलेज जीवनका दिनहरू सम्झिएको बताइन् । उनले भनिन्,
‘हाम्रो समयमा केटीहरूले बाइक हाँक्दा अचम्म मानिन्थ्यो । आज महिलाहरूले बुलेट बाइक कुदाउनु भनेको उनीहरूको आँट र साहस बढेको प्रमाण हो ।’ यस्ता कार्यक्रमले महिलाहरूलाई अझ सशक्त बनाउने विश्वास उनले व्यक्त गरिन् ।

त्यस्तै नायिका प्रियना आचार्यले महिलाहरूको उत्साह र आत्मविश्वास देखेर आफूलाई पनि बाइक राइड गर्ने चाहना पलाएको बताइन् । ‘अब मलाई पनि राइड गर्ने आँट गर्न मन छ, बुलेट चढ्ने एकदमै रहर लागेको छ,’ उनले भनिन् । साथै, भविष्यमा यस्ता प्रेरणादायी कार्यक्रमहरू अझ धेरै आयोजना गर्न आग्रह गर्दै कर्पोरेट समाचारलाई शुभकामना दिइन् ।

कार्यक्रममा अल्फा अटोमोटिभ प्रालिका कार्यकारी निर्देशक मेघराज पौड्यालले कर्पोरेट समाचारसँगको सहकार्यमा रोयल इन्फिल्डले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले लेडिज बाइक राइडमार्फत पर्यटन प्रवद्र्धनदेखि अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण योगदान पुगेको बताए ।

२५ भन्दा बढी महिलाहरू सहभागी भएको उक्त बाइक राइड काठमाडौंका ऐतिहासिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्दै सम्पन्न भएको थियो । बसन्तपुर, पाटन दरबार र तीनकुने हुँदै यात्रा काठमाडौंको दक्षिण ढोकास्थित नर्लिङ रिसोर्टमा पुगेर समापन गरिएको थियो ।

राइडपछि नर्लिङ रिसोर्टमा कर्पोरेट समाचारको पहिलो वार्षिकोत्सवको औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी राइडरहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमकी सभापति तथा कर्पोरेट समाचारकी सञ्चालिका संगीता खत्रीले छोटो समयमै एक वर्षको यात्रा पूरा गर्न सबैको साथ, माया र विश्वासले सम्भव भएको बताइन् । उनले भनिन्, ‘यो मेरो एक्लो प्रयासले सम्भव भएको होइन, मेरो टिम र पाठकवर्गको निरन्तर साथ र माया नै हाम्रो शक्ति हो ।’

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले महिला नेतृत्वमा सञ्चालित कर्पोरेट समाचार समाजका लागि प्रेरणादायी उदाहरण बनेको बताए । ‘एउटा महिलाले आँट गरेर सुरु गरेको यो प्रयासले अन्य महिलाहरूलाई पनि समाजमा केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउँछ,’ उनले भने ।

मेयर कार्कीले कर्पोरेट समाचारलाई शुभकामना दिँदै आगामी दिनमा नगरपालिकाको तर्फबाट सहकार्य गर्दै अघि बढ्न चाहेको बताए । ‘महिला नेतृत्वमा सञ्चालन भएको कर्पोरेट समाचारले महिलामात्र होइन, समग्र देशलाई सकारात्मक सन्देश दिएको छ,’ उनले उल्लेख गरे ।

Share News