सूर्यज्योति लाइफका ४ संस्थापक सेयरधनी बाहिरिँदै, ११.२५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट एकैपटक चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । कम्पनीका विभिन्न चार जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

कम्पनीका अनुसार संस्थापक सेयरधनी बोधप्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २१४ कित्ता, गौरव सारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेशप्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र सेयर मूल्य तोकी आवेदन दिनुपर्नेछ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुकले सेयर रजिष्ट्रारको कार्यालय, थापाथली, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Share News