ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न, पूँजीगत खर्च २४ प्रतिशत

ललितपुर । ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा) आइतबार (आज) सम्पन्न भएको छ । 

महानगर प्रमुख चिरीबाबु महर्जनले प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाले आचारसंहिता लागू हुनुअघि नै जनतासँग जोडिएका सम्पूर्ण काम पुरा गर्न अनुरोध गरे । 

जेनजी प्रदर्शन र प्रतिनिधिसभाको निर्वाचनका कारण महानगरको पूँजीगत खच अपेक्षा अनुसार हुन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘अघिल्ला वर्षहरूको अनुभवलाई हेर्ने हो भने पनि पछिल्लो छ महिनामा पुँजीगत खर्च बढी भएको देखिन्छ ।’

महर्जनले पूँजी खर्च प्रगति मापनको मुख्य आधार भएको बताउँदै बाँकी छ महिनामा यो खर्च बढ्नेगरी काम गर्न अनुरोध गरे । 

आर्थिक वर्ष २०८२÷२०८३ को हालसम्मको पूँजीगत खर्च २४ प्रतिशत रहेको छ । ललितपुर महानगरको छवि अन्य स्थानीय तहको भन्दा राम्रो रहेको बताउँदै उनले जनप्रतिनिधि र कर्मचारीबीचकौ टिमवर्कको कारण उपलब्धि हासिल गरेको बताए । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै आचारसंहिता लागू हुनुअघि नै जनतासँग प्रत्यक्ष जोडिएका विषयलाई अघि बढाउन अनुरोध गरिन् । 

उनले प्रतिनिधिसभाको निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व नै नागरिकको मौलिक हकसँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरिन् । 

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले धेरैवटा योजना सुरु भइसकेको बताउँदै भुक्तानी नभएकाले पूँजीगत खर्च कम देखिएको बताइन् । बाँकी छ महिनामा पूँजीगत खर्च वृद्धि हुने बताउँदै नागरिकको दिनचर्यासँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् ।

Share News