बीवाईडी ब्रान्ड दुरुपयोगविरुद्ध साइमेक्स इंकले कानुनी प्रक्रिया अघि बढायो

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरू विरुद्ध सार्वजनिक सूचना जारी गर्दै कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

आइतबार कम्पनीले जारी गरेको सूचनाअनुसार केही नक्कली डिजिटल प्लेटफर्महरूले आफूलाई ‘बीवाईडी नेपाल’को आधिकारिक माध्यमको रूपमा प्रस्तुत गर्दै ग्राहक तथा उपभोक्तालाई भ्रममा पार्ने प्रयास गरिरहेका छन् ।

साइमेक्स इंकले ‘bydpromotionnepal.com’ नामक वेबसाइट, ‘BYD Dealler Fans’ नामको फेसबुक पेज, ‘BYD Promotion’ नामक टेलिग्राम समूह तथा यस्तै नामबाट सञ्चालन भइरहेका अन्य कुनै पनि डिजिटल प्लेटफर्महरू बीवाईडी नेपालका आधिकारिक सञ्चारमाध्यम नभएको स्पष्ट पारेको छ । 

यी प्लेटफर्महरूसँग कम्पनीको कुनै पनि प्रकारको सम्बन्ध, सहकार्य, आबद्धता वा आधिकारिक स्वीकृति नरहेको पनि साइमेक्स इंकले जनाएको छ ।

यस्ता अनधिकृत डिजिटल माध्यमहरूले झुटा सूचना फैलाउँदै आकर्षक अफर, योजना तथा प्रचारको नाममा ग्राहकलाई भ्रममा पार्ने र आर्थिक ठगी गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीले यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न आग्रहसमेत गरेको छ । 

कम्पनीले साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू तथा आधिकारिक डिलरहरू मार्फत मात्र जानकारी लिन पनि अनुरोध गरेको छ ।

Share News