काठमाडौं । ट्राफिक सचेतनाको कमी र लापरवाहीका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ट्राफिक सप्ताह तथा सडक दुर्घटना न्यूनीकरण अभियान २०८२ सम्पन्न भएको छ । गत पौष २६ गतेदेखि सुरु भएको साताव्यापी अभियानबाट ३ लाख ८० हजारभन्दा बढी सडक प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
सडक विकासको पर्याय भए पनि बढ्दो दुर्घटनाले ठूलो धनजनको क्षति निम्त्याइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै काठमाडौं उपत्यकामा ७ हजार १६९ सवारी दुर्घटनामा १९० जनाले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।
यो भयावह अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले नागरिक केन्द्रित अभियान सञ्चालन गरेको ट्राफिक कार्यालयको भनाइ छ । अभियानको पूर्वसन्ध्यामा पौष २५ गते आयोजित रक्तदान कार्यक्रमबाट सप्ताहको सुरुवात गरिएको थियो, जहाँ १३९ जनाले रक्तदान गरेका थिए ।

साताभरि ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई शिक्षित र जागरुक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्यो । जसमा ५० हजारभन्दा बढी पर्चा, पम्प्लेट वितरण तथा डिजिटल होर्डिङ बोर्ड र सामाजिक सञ्जालमार्फत प्रचार/प्रसार गरिएको जनाएको छ ।
चालकहरूसँग चिया कार्यक्रम, निःशुल्क आँखा जाँच, सवारीसाधनको प्राविधिक जाँच र नयाँ प्रविधिबारे तालिम दिन नाडासँग सम्झौता समेत भएको छ ।
विद्यार्थी, पैदलयात्री र सर्वसाधारणका लागि अन्तरक्रिया, प्रभातफेरी, नागरिक सुनुवाइ तथा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालय अनुसार पिक एन्ड ड्रप व्यवस्थापन, जेब्रा क्रसिङ र रोड मार्किङ, र सडक छेउका रुख छाँटकाँट जस्ता कार्यहरू गरिएको छ ।
यस्तै, ट्राफिक प्रहरी कर्मचारीका लागि इन्फ्लुएन्जा खोपको सुरुवात र उनीहरूको मनोबल बढाउन विभिन्न सम्मान कार्यक्रम गरिएको बताइएको छ ।
पौष २६ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा वसन्तपुरबाट निकालिएको विशाल सचेतना र्यालीमा १० हजारभन्दा बढीको सहभागिता थियो । सोही दिन जनस्तरबाट पुनर्निर्मित कार्यालय भवन र मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको समेत उद्घाटन गरिएको थियो ।
जेनजी आन्दोलनपश्चात अस्तव्यस्त बनेको सडक व्यवस्थापन र प्रहरीको खस्किएको मनोबललाई उकास्न पनि यो अभियान महत्त्वपूर्ण रहेको ट्राफिक कार्यालयले जनाएको छ ।

‘जसरी घरमा अनिष्ट नहोस् भनेर सप्ताह लगाइन्छ, हामीले सडकमा नागरिकको घरमा चोटपटक नलागोस् र कसैले दुर्घटनाको शिकार बन्न नपरोस् भनेर यो सप्ताह लगाएका हौं,’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीकाले भने ।
सडक दुर्घटनाको सबैभन्दा बढी जोखिममा युवा वर्ग रहेको उनको भनाइ छ। ‘युवाहरूको कानसम्म हाम्रो सन्देश पुगोस् र उनीहरूलाई दुर्घटनाको जोखिमबाट बचाउन सकियोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ उनले थपे ।
ट्राफिक प्रहरीको प्रयासको चौतर्फी प्रशंसा भए पनि सडक सुरक्षासँग सम्बन्धित अन्य सरकारी निकायहरूको उदासीनताप्रति भने चर्को आलोचना भएको थियो ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आक्रोश पोख्दै भने, ‘पौष २६ गतेदेखि ट्राफिक प्रहरी सडकमा खटिँदा यातायात व्यवस्था विभाग कहाँ गयो ? सडक विभाग कहाँ गयो ? सडक बोर्ड कहाँ गयो ?’
उनले कर उठाउने तर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गर्दा दुर्घटना न्यूनीकरणको सम्पूर्ण भार ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकको काँधमा आइपरेको बताए ।
सिटौलाका अनुसार नेपालमा रहेका ६२ लाख सवारीसाधनमध्ये उपत्यकामा मात्रै २४ लाख मोटरसाइकल छन् र ८० प्रतिशतभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे सवारीबाटै हुने गरेको छ ।
शनिबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीकै प्रमुख आतिथ्यतामा विभिन्न सचेतनामूलक प्रस्तुतिसहित अभियानको समापन गरिएको थियो ।
प्रहरीले सप्ताह सकिए पनि दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
दुर्घटनामुक्त सडकको परिकल्पना साकार पार्न ट्राफिक नियमको पालना गर्दै आफू बच्न र अरुलाई पनि बचाउन सबै सडक प्रयोगकर्तालाई आह्वान गरिएको छ ।