युवाको नेतृत्वमा एआई क्रान्ति : अर्ब डलर स्टार्टअप जन्माउने २० वर्षे पुस्ता

स्केल एआईका पूर्व सीईओ एलेक्जेन्डर वाङ ।

काठमाडौं । विश्वका केही सबैभन्दा सफल स्टार्टअपहरू युवा संस्थापकहरूले सुरु गरेका थिए । उदाहरणका लागि बिल गेट्स वा मार्क जुकरबर्गलाई हेरौं । दुवै जना आफ्नो उद्यम सुरु गर्दा मात्र १९ वर्षका थिए ।

तर अहिले अर्ब डलर मूल्यका कृत्रिम बौद्धिकता (एआई) स्टार्टअपहरूको उदयसँगै एउटा नयाँ प्रवृत्ति देखिएको छ । औसतमा हेर्दा यस्ता स्टार्टअपका संस्थापकहरू झन् कम उमेरका हुँदै गएका छन् ।

विश्वव्यापी प्रारम्भिक चरणको भेन्चर क्यापिटल फर्म एन्टलरले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार एआई युनिकर्न (एक अर्ब डलरभन्दा बढी मूल्यका स्टार्टअप) का संस्थापकहरूको औसत उमेर २०२१ मा ४० वर्षको उच्च बिन्दुमा पुगेको थियो भने २०२४ मा घटेर २९ वर्षमा झरेको छ । यस प्रतिवेदनका लागि एन्टलरले विश्वभरका १ हजार ६२९ युनिकर्न र ३ हजार ५१२ संस्थापकहरूको अध्ययन गरेको थियो ।

तर अन्य उद्योगहरूमा भने संस्थापकहरूको उमेर बढ्दो क्रममा छ । सन् २०१४ मा युनिकर्न बन्ने स्टार्टअपका संस्थापकहरू औसतमा सुरु गर्दा ३० वर्षका थिए । तर २०२२ देखि २०२४ को बीचमा युनिकर्न बनेका स्टार्टअपका संस्थापकहरूको औसत उमेर ३४ वर्ष पुगेको छ ।

पछिल्लो एक वर्षमा युवा संस्थापक भएका थुप्रै एआई स्टार्टअपहरू चर्चामा आएका छन् । २९ अर्ब डलर मूल्यको एआई डेटा लेबलिङ कम्पनी स्केल एआईका सह–संस्थापक एलेक्जेन्डर वाङ अहिले मात्र २९ वर्षका छन् । मेटाले जुन महिनामा स्केल एआईसँग १४.३ अर्ब डलरको सम्झौता गर्दै वाङलाई भित्र्याएर ‘टीबीडी ल्याब्स’ नामक नयाँ एआई अनुसन्धान इकाइको नेतृत्व सुम्पिएको थियो ।

यसअघि ६५ वर्षे ‘एआई गडफादर’ यान लेकुनको नेतृत्वमा रहेको मेटाको जेनेरेटिभ एआई टोली, यसको एलएलएएमएफोर मोडल अपेक्षित रूपमा सफल नहुँदा पुनःसंरचना गरिएको थियो ।

यस पुनःसंरचनापछि वाङ लेकुनका प्रबन्धक बने । 

यसैबीच, एआईमा आधारित प्रतिभा खोज तथा भर्ती प्लेटफर्म मर्करका सहसंस्थापक ब्रेन्डन फुडी, आदर्श हिरिमथ र सूर्य मिधा सबै अहिले २२ वर्षका छन् । हालै यस कम्पनीको मूल्यांकन १० अर्ब डलरभन्दा बढी भएको छ ।

त्यस्तै, एआई सहयोगी कोडिङ तथा डेभलपर प्लेटफर्म एनीस्फियर पनि एक अर्ब डलरभन्दा बढी मूल्यांकनसहित २० वर्ष आसपासका युवाहरूको नेतृत्वमा छ ।

एन्टलरका सह–संस्थापक तथा प्रमुख व्यवसाय अधिकृत फ्रिड्टजोफ बर्जेका अनुसार अब संस्थापकसँग गहिरो उद्योग अनुभव हुनु अनिवार्य मानिँदैन । बरु चतुर, उद्यमशील र नयाँ उपाय खोज्न सक्ने क्षमता बढी मूल्यवान् ठानिन थालेको छ ।

‘एआईको युगमा प्रयोग गर्न इच्छुक र सक्षम हुन, परम्परागत कर्पोरेट अनुभव वा लामो सेवाभन्दा बढी महत्त्वपूर्ण हुन थालेको छ,’ उनले भने ।

‘परम्परागत कम्पनी निर्माणको धेरै अनुभव हुनु कहिलेकाहीँ उल्टै हानिकारक पनि हुन सक्छ । किनकि त्यसले पूर्ण रूपमा नयाँ सोच (ब्ल्याङ्क स्लेट) बाट सोच्न अवरोध गर्न सक्छ । अत्याधुनिक र नयाँ प्रविधिमा प्राविधिक रूपमा निपुण हुनका लागि कहिलेकाहीँ युवा हुनु फाइदाजनक हुन्छ, किनकि त्यही विषय तपाईंले हालसालै अध्ययन वा प्रशिक्षणमा सिकेको हुन्छ,’ उनले थपे ।

एन्टलरको प्रतिवेदनले एआई स्टार्टअपहरू अन्य उद्योगको तुलनामा औसतमा दुई वर्ष छिटो विस्तार भइरहेको पनि देखाएको छ । यी स्टार्टअपहरू औसत ४.७ वर्षमै युनिकर्न बन्न सफल भएका छन् । 

२०२५ मा तीव्र गतिमा विस्तार भएका एआई स्टार्टअपका उदाहरणहरूमा मिस्ट्रल , लभेबल र सुनो एआई पर्दछन् ।

र जुकरबर्गकै उदाहरणले देखाउँछ— कलेजको होस्टेल कोठामा जन्मिएको एउटा अनौठो विचारले पनि असाधारण सफलता हासिल गर्न सक्छ ।

‘उनी अत्यन्तै युवा थिए, तर समयसँगै आफूलाई ढाल्दै संसारकै ठूला कम्पनीमध्ये एकको नेतृत्व गरिरहेका छन्,’ बर्जेले भने ।

भेन्चर क्यापिटल फर्म लियोनिसले नोभेम्बरमा सार्वजनिक गरेको एक प्रतिवेदनले पनि एआई स्टार्टअपका संस्थापकहरूको मध्यम (मिडियन) उमेर २९ वर्ष रहेको देखाएको छ । अधिकांश संस्थापकहरू मध्य–२० देखि अन्तिम–२० को उमेर समूहका छन् र धेरैजसो कर्पोरेट करिअरभन्दा सिधै शैक्षिक संस्था वा अनुसन्धान प्रयोगशालाबाट आएका हुन्छन् ।

बर्जेले भने, ‘२० वर्ष आसपासका युवाहरूमा कम्पनीलाई छिटो अघि बढाउने गुण हुन्छ । तर कम्पनी परिपक्व हुँदै जाँदा नेतृत्व परिवर्तन हुनु सामान्य कुरा हो ।’

उनको निष्कर्ष छ– युवा उमेरमै कम्पनी सुरु गर्नु नयाँ कुरा होइन तर अहिले युनिकर्न बनाइरहेका सबै संस्थापकहरू नै पाँचदेखि दस वर्षपछि पनि ती कम्पनीको नेतृत्वमै रहनेछन् भन्ने ग्यारेन्टी हुँदैन ।

Share News