ग्रामीण केन्द्रित चिकित्सा शिक्षाका अभियन्ता

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता, नेपाल विश्वविद्यालयका संस्थापक

विकास नायक अवार्ड ग्रहण गर्दै प्रा. डा. अर्जुन कार्की ।

अमेरिकामा उज्ज्वल करिअर, एमडीको पढाइ सकेर उच्च आम्दानी र सुरक्षित जीवनको बाटो खुलिसकेको थियो । तर प्राध्यापक डा. अर्जुन कार्कीले त्यो बाटो रोजेनन् । अमेरिकामा बसेर नेपाल र अमेरिकाको स्वास्थ्य सेवाको तुलना गरे । र, मनमनै भने, ‘मजस्ता चिकित्सक आफ्नै देश फर्किएनन् भने नेपालको हालत त्यस्तै रहन्छ । मैले स्वदेश फर्किएर आफूले सकेसम्मको सेवा गर्नुपर्छ ।’

अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट तीन वर्ष ‘इन्टरनल मेडिसिन’ र ब्राउन युनिभर्सिटीबाट थप तीन वर्ष फोक्सो रोग र क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ कोर्स पूरा गरेपछि सन् १९९९ मा डा. कार्की नेपाल फर्किए । उनको त्यो निर्णयलाई उनका साथीभाइले ‘पागलनपन’को संज्ञा दिए । किनकि चिकित्सा शिक्षामा अमेरिकामा एमडी पास गरेका उनलाई अमेरिकी बजार स्वागत गर्न तयार थियो । उनले भने अनुसारको तलबसुविधा पनि पाउन सक्थे । तर, उनको अगाडि त्यो सुविधाले नेपालको दयनीय स्वास्थ्य प्रणाली, दुर्गम वस्तीका नागरिकले भोगिरहेको सास्ती र असमान स्वास्थ्य सेवाले जिस्क्याइरह्यो । र, उनी नेपाल फर्किए । 

परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्यो भने नयाँपुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ । मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ ।

विदेशमा पढ्न जानुअघि डा. कार्की त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा फ्याकल्टीका रूपमा कार्यरत थिए । चिकित्सा शिक्षामा अब्बल र अनुभवीको योग्यता पाएर नेपाल फर्किएका उनलाई शिक्षण अस्पतालमा काम गर्ने वातावरण सिर्जना भएन । र, उनको माग काठमाडौं विश्वविद्यालयमा भयो । ‘अमेरिकाबाट फर्केपछि सन् २००० मा काठमाडौं विश्वविद्यालयमा जोडिएँ, त्यतिबेला ‘केयू स्कूल अफ मेडिकल साइन्सेज’बाट पाँचवटा मेडिकल कलेजले सम्बन्धन लिइसकेका थिए । तर, सो विश्वविद्यालयले आफ्नै आंगिक मेडिकल क्याम्पस सञ्चालन गर्न सकेको थिएन, मेरो नेतृत्वमा आफ्नै मेडिकल शिक्षा सुरु भयो,’ उनले भने ।

null

प्रा. डा. अर्जुन कार्की । 

गुणस्तरीय मेडिकल शिक्षाको अवधारणापत्र उनै डा. कार्कीले तयार गरे । विश्वविद्यालयले डाक्टर उत्पादन गरेर मात्र हुँदैन, उनीहरूलाई दूरदराज र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट विमुख रहेका समुदायसम्म पुगेर सेवा दिनसक्ने पनि बनाउनुपर्छ भनेर उनले अवधारणा पत्र तयार गरे । उनमा ग्रामीण भेगका गरिबका छोराले पनि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने थियो । किनकि त्यसअघि सहर र गाउँका नागरिकले पाउने स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षामा पनि ठूलो असमानता थियो । उनी त्यो असमानता र विभेद चिर्न चाहन्थे । त्यसैका लागि उनी अमेरिकाबाट स्वदेश फर्किएका थिए । 

‘त्यही असमानता चिर्न मेरै नेतृत्वमा समस्यामा आधारित सिकाइ (पीबीएल)’ भनिने नवीनतम शिक्षण विधिबाट सन् २००१ मा केयूमा एमबीबीएस कार्यक्रमको पढाइ सुरु भयो, पाठ्यक्रम पनि सोही ढंगले तयार ग¥यौं । पछि धेरै गरिब विद्यार्थी र ग्रामीण क्षेत्रका विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाए,’ उनी भन्छन्, ‘नेपालको चिकित्सा क्षेत्रमा थोरै भएपनि केही सुधार गरेको महसुस हुन्छ ।’

तीन वर्षसम्म काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षामा डा. कार्कीको नेतृत्वमा परिणाम दिने काम भयो । दर्जनौं ग्रामीण क्षेत्रका विद्यार्थीले एमबीबीएस शिक्षा पढ्न पाए । उनीहरूले आफ्नै ठाउँमा चिकित्सक बनेर सेवा गर्ने अवसर पाए । आफूले बसालेको जगकै कारण दर्जनौं चिकित्सकले आफ्नै गाउँमा फर्केर गरेको सेवाप्रति उनी गर्व गर्छन् । 

केयूमा उनले समस्यामा आधारित सिकाइ,  समुदायमा आधारित चिकित्साशास्त्र क्लिनिकल प्रस्तुति मोडेल विधिमा विद्यार्थीलाई किताबका सैद्धान्तिक विषयभन्दा पनि बिरामीको वास्तविक समस्या बुझेर सिकाउने प्रयास गरे । त्यसमा आफू सफल पनि भएको उनी दाबी गर्छन् । ग्रामीण वस्तीका स्वास्थ्य समस्या, सामाजिक संरचना, रोगका व्यवहारिक र आर्थिक कारण पहिचान गरेर विद्यार्थीलाई त्यहीअनुसार सिकाउन सकिएको उनी बताउँछन्। 

काठमाडौं विश्वविद्यालयको नेतृत्व आफ्नो मुख्य एजेण्डामाथि विमुख भएको महसुस डा. कार्कीले गरे । तीन वर्ष काम गरेपछि उनले त्यहाँबाट पनि राजीनामा दिए । अब आफूले बसालेको जग र आफ्नो अवधारणामा थप प्रवाभकारी भएर काम गर्न उनी योजना बनाउँदै थिए । त्यही सिलसिलामा उनी पाटन अस्पतालसँग जोडिए ।

डा. कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता

काठमाडौं विश्वविद्यालयबाट अलग भएपछि उनले पाटन अस्पतालमै मेडिकल कलेज खोल्ने योजना अघि सारे । प्रधानमन्त्री र मन्त्रीहरूसँग बारम्बार भेटे, छलफल गरे । देशमा छुट्टै किसिमको मेडिकल कलेजको स्थापनाको आवश्यकता बारेमा ब्रिफ्रिङ गरे । त्यतिखरे प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला ।

‘संयोगवश त्यतिबेला म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचार टीममा पनि संलग्न थिएँ । मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव उहाँलाई सुनाएँ, उहाँले तुरुन्तै स्वीकार पनि गर्नुभयो,’ स्थापनाका दिन स्मरण गर्दै डा. कार्कीले भने । 

अन्ततः सन् २००७ सालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । त्यसको संस्थापक उपकुलपति उनै डा. कार्की बने । त्यही वर्षबाट पाटनमा एमबीबीएसको पठनपाठन सुरु भयो । उनले एमबीबीएसका विद्यार्थीको प्रवेश परीक्षा अन्य मेडिकल कलेजको भन्दा रचनात्मक र पृथक बनाए । उनको चाहना थियो, ग्रामीण भेग र गरिबका जनता छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउन् । 

‘हामीले परीक्षामा विद्यार्थीले प्राप्त गर्ने अंकलाई मात्र भर्ना छनोटको आधार बनाएनौं, त्यो विद्यार्थी असल चिकित्सक बन्न योग्य छ कि छैन भनेर उसको ‘एप्टिच्युड’ जाँच गर्ने काम पनि ग¥यौं । सोही किसिमले प्रश्नपत्र बनायौं, ग्रामीण भेगमा पढेको विद्यार्थी र सहरमा पढेको विद्यार्थीलाई एउटै किसिमले मूल्यांकन गरेनौं, पाठ्यक्रम र शिक्षण विधि पनि रचनात्मक बनायौं,’ उनले आफूले गरेको काम सुनाउँदै भने, ‘परिणामस्वरूप सबै क्षेत्रका विद्यार्थीले पाटनमा पढ्ने अवसर पाए ।’

डा. कार्कीले आफूले बसालेको जगकै कारण आज पाटन अस्पतालबाट उत्पादन भएका ५० प्रतिशत बढी चिकित्सक सरकारी अस्पतालमा कार्यरत रहेको सुनाए । उनले यो विषयलाई गर्वका रूपमा हेरेका छन् । ‘सहरमा पढेहुर्केको विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ, गणित राम्रो हुन्छ, उसले सहजै एमबीबीएसको प्रवेश परीक्षा पास गर्न सक्छ । तर, ग्रामीण भेगमा पढेको विद्याथीसँग त्यो क्षमता हुँदैन, हामीले गाउँमा पढेको विद्यार्थीले पनि चिकित्सक बन्न सक्ने ढोका खोल्यौं, त्यो असमानता हटाउने प्रश्नपत्र निर्माण गर्यौं,’ उनले भने, ‘त्यो अवधारणाले राम्रो प्रतिफल प्राप्त गर्यौं, गरिबका छोराछोरी पनि चिकित्सक बन्ने बाटो खुल्यो ।’

null

डा. कार्कीले नेपालको चिकित्सा शिक्षामा मौलिक रूपान्तरणको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा शैक्षिक सेवाको स्थापित संस्था बनाउन उनी सफल भए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुनु नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक क्रान्तिको जग बस्यो । विगतका अंकको भरमा चिकित्सक बन्न सक्ने बार उनै डा. कार्कीले तोडे । उनकै योजना र अवधारणाअनुसार पछि त्यस संस्थाबाट उत्पादित चिकित्सकहरू खुसी हुँदै विकट र ग्रामीण क्षेत्रमा पनि सेवा दिन तयार बने । 

विगतमा कुनै विकट जिल्लाहरूमा सेवा गर्नको लागि जान तयार नहुने नेपाली चिकित्सकहरू डा. कार्कीको योजनाले जुनसुकै जिल्ला र क्षेत्रमा पनि जान तयार भए । उनको नेतृत्वमा नै कमजोर पृष्ठभूमिका विद्यार्थीलाई सक्षम बनाउन ६ महिनाको फाउण्डेसन कोर्स पनि सुरु गरिएको थियो । जुन नेपालकै चिकित्सा शिक्षामा पहिलो कार्यक्रम हो । सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई गाउँगाउँमा पठाइन्थ्यो । स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय, घर–घरमा पुगेर जनस्वास्थ्यका वास्तविक चुनौती बुझाइन्थ्यो । 

डा. कार्कीका अनुसार पहिलो पटक विद्यार्थी गाउँ पुग्दा डराउँथे, असजिलो मान्थे । तर पटक–पटक जान थालेपछि गाउँ नै आफ्नो कार्यक्षेत्र बन्न सक्छ भन्ने आत्मविश्वास उनीहरूमा विकास भयो । चिकित्सक बनिसकेपछि उनीहरू निर्धक्क भएर कार्यक्षेत्रमा सेवा गर्न जाने वातावरण निर्माण भयो । 

‘केही हदसम्म भए पनि मैले नेपालको चिकित्सा क्षेत्रलाई रिफर्म गरेको महसुस हुन्छ, हाम्रो देशलाई काम गर्ने डाक्टर काम लाग्छ भनेर, विद्यार्थीको मनसाय बुझेर हामीले काम गर्यौं । अन्तर्राष्ट्रिय स्तरका तथा धेरै उच्चस्तरीय विशेषज्ञ पाठ्यक्रम विकास, संकाय तालिम, तथा प्रवेश प्रणाली सुधारमा ठूलो टेवा पुर्याएँ,’ उनी भन्छन्, ‘अहिले पाटन अस्पतालको जुन विश्वसनीयता छ, त्यसको जग बनेकोमा मलाई गर्व छ ।’

चिकित्सा शिक्षा आयोग बनेपछि भने देशभरिको एमबीबीएसको परीक्षा लिने प्रणाली समान छ । यो प्रणालीले फेरि पनि टाठाबाठाहरूले नै पढ्न पाउने वातावरण निर्माण भएकोमा उनी बेखुसी छन् ।

नेपाल विश्वविद्यालयका संस्थापक

चिकित्सा शिक्षामा संरचनागत सुधार गर्दै जाँदा डा. कार्कीले नेपालको उच्च शिक्षामा त्यहाँभन्दा ठूलो समस्या देखे । विद्यार्थीहरूलाई सानै उमेरदेखि विभिन्न विषय यति सकस, यति गाह्रो भनेर भनेर भारी बोकाएको आभास उनलाई भयो । उनले त्यो समस्याको समाधान पहिल्याए । 

‘कक्षा १० पास हुनेबित्तिकै हामीले विद्यार्थीको दिमागमा ‘साइन्स, म्यानेजमेन्ट, ‘आर्टस्’ वा अन्य विषय भनेर तिनको भारी पनि बोकायौं, एउटा पढेको विद्यार्थीले अर्को विषयको ज्ञान नै नराख्ने अभ्यास देखियो,’ उनी भन्छन्, ‘यो हाम्रो शैक्षिक प्रणालीको दोष हो, यो प्रणालीको सुधार नहुँदासम्म शैक्षिक सुधार हुँदैन भन्ने महसुस भयो ।’

एउटा विद्यार्थीलाई मानव समाज, संस्कार र संस्कृति, भाषा र नवीनतम् सूचना प्रविधिको पनि ज्ञान हुन आवश्यक रहेको निचोड डा. कार्कीले निकाले । एउटा व्यवहारिक र सिर्जनशील विद्यार्थी उत्पादनका लागि सुरुमा प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता उनले देखे । त्यसपछि उनी त्यो प्रणाली सुधारका लागि नयाँ विश्वविद्यालय नै खोल्नुपर्ने अभियानमा लागे । 

null

‘हामीले व्यक्तिलाई न नैतिकवान बन्न सिकायौं, न त समाज बुझने जिम्मेवार नागरिक । सबैको मुखमा देश बनेन भन्ने कुरामात्रै सुनियो । यसको महत्त्वपूर्ण बिन्दु शिक्षा नै हो,’ उनी भन्छन्, ‘समाजको विभिन्न पक्ष बुझ्ने, समाजप्रति जिम्मेवार र व्यवहारिक नागरिक उत्पादन गर्न आवश्यक भएको महसुस गर्दै हामीले नेपाल विश्वविद्यालय स्थापना गर्ने अभियान अगाडि बढायौं ।’

विगत ७ वर्षदेखि थालेको अभियानले अहिले सार्थकता पाएको छ । नेपाल विश्वविद्यालय स्थापना भइसकेको छ । विश्वविद्यालयले अहिले पाठ्यक्रम निर्माण, शिक्षण विधि, शिक्षक व्यवस्थापन लगायतका विषयमा काम गरिरहेको छ । डा. कार्की त्यही विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यरत छन् । 

अन्य विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था भए पनि यो विश्वविद्यालय भने स्वायत्त सार्वजनिक र गरनाफामूलक संस्थाको रूपमा काम गर्नेछ । विश्वविद्यालयको संरक्षक परिषद् छ । सोही परिषदले उपकुलपतिलाई नियुक्त गर्छ ।  

अहिले विश्वविद्यालयको संरक्षक परिषदमा डा. बिन्दु लोहनी, बिमला राई पौड्याल, प्राध्यापक बिपिन अधिकारी, चाँदनी जोशी, जगदीश सी पोखरेल, लालकृष्ण केसी, लक्ष्मीदेवी पाण्डे, माधव पौडेल, रामेश्वर खनाल, प्राध्यापक डा. राम श्रेष्ठ र डा. सिबा थापा सदस्य रहेका छन् । विश्वविद्यालयको रजिष्ट्रार डा. सूर्यराज आचार्य रहेका छन् । 

डा. कार्कीका अनुसार अहिले विश्वविद्यालय स्थापनाका लागि जग्गा खोज्ने काम भइरहेको छ । उनका अनुसार अहिले विश्वविद्यालयले ‘मास्टर इन पब्लिक पोलिसी’मा भर्ना पनि खुलाएको छ । 

विद्यार्थी पासमात्रै भन्दा पनि उनीहरू सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र समालोचना गर्र्न किसिमको निर्माण गर्न खोजेको उनी बताउँछन् । 

डा. कार्की चिकित्सकको भूमिकामा मात्रै नभई समाज सुधारकको रूपमा पनि काम गरिरहेका छन् । शिक्षामा रूपान्तरण ल्याउने अभियानमा उनी लागिरहेका छन् । उनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् । 

null

‘परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्यो भने नयाँ पुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ,’ डा. कार्की भन्छन्, ‘मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ ।’

डा. कार्की सामूहिक प्रयत्नले नै नतिजा दिन सकिने धारणा राख्छन् । ‘विश्वविद्यालयमा विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने मात्रै हुनु हुँदैन । विचार, विश्लेषण र सोच्न सक्ने जनशक्ति हामी उत्पादन गर्छौं, विश्वका कुनै पनि देशभन्दा हाम्रो शिक्षा कम हुँदैन भन्ने किसिमले हामी गरिरहेका छौं,’ उनी भन्छन्, ‘मैले थालेको काम गज्जवले सम्पन्न गर्छु र यसले मुलुकको वृहत्तर हितको लागि काम गर्छ भन्ने विश्वास पनि छ ।’

यसरी बने विशेषज्ञ

सिन्धुपाल्चोकको पेट्कु (हाल लिसंखु–पाखर गाउँपालिका) मा घर भएका डा. कार्की  सन् १९५५ मा काठमाडौंको एक डेराको घरमा जन्मिए । बुवा नेपाली सेना र पछि नेपाल प्रहरीमा भएकोले उनको बाल्यकाल विभिन्न ठाउँमा गएर बित्यो । बिरामी हुँदा अस्पताल पुगेका उनले डाक्टर देखेपछि म पनि डाक्टर बन्छु भन्ने सपना उनमा पलायो।

 

एसएलसीको नतिजा कमजोर हुँदाहुँदै पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने अभिलाषा उनमा जाग्यो । पहिलो र दोस्रो प्रयास असफल भए पनि स्वीस सहयोगमा सञ्चालन भएको ग्रामीण विकास परियोजनामा क्लिनिक सहायक बनेर पाएको अनुभवले तेस्रो प्रयासमा सफलता दिलायो । उनी विगत सम्झिँदै भन्छन्, ‘सन् १९७५ मा एचएमा  नाम निकालें । तीन वर्षमा उत्कृष्ट नम्बर ल्याएर पास पनि भएँ ।’

एचए पास गरेपछि उनले नुवाकोट र दोलखाका स्वास्थ्य चौकीमा एक वर्ष सेवा गरे । चिकित्साशास्त्र अध्ययन संस्थानले महाराजगञ्ज क्याम्पसमा एमबीबीएस कार्यक्रम सुरु गर्यो । आवश्यक योग्यता पूरा भएकाले सन् १९७९ मा उनी पनि भर्ना भए । उनले सन् १९८५ मा एमबीबीएस उत्तीर्ण गरे । 

डा. कार्की एमबीबीएसपछि छिटोभन्दा छिटो विशेषज्ञ बन्ने चाहन्थे । तर, त्यतिबेला नेपालमा स्नातकोत्तर (मास्टर्स) कार्यक्रम उपलब्ध थिएन । सन् १९९१ मा स्वीडेनको लुन्ड विश्वविद्यालयमा मेडिकल एक वर्षको अनुसन्धान सकाएर उनी सन् १९९३ मा अमेरिका गए । उनले अमेरिकामा क्रिटिकल केयरमा विशेषज्ञता हासिल गरेपछि स्वदेश फर्किए । 

null

उनी सामाजिक काममा पनि सक्रिय भए । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न सरकारले गठन गरेको डा. केदारभक्त माथेमा आयोगका सदस्य पनि बने । उनले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका संस्थापक कार्यकारी निर्देशक तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका संस्थापक अध्यक्ष भएर पनि काम गरिसकेका छन् । 

कार्कीकै शब्दहरू :

बिरामीका समस्या सुन्नु, बुझ्नु र निदान गर्नु चिकित्सकको दायित्व हो । तर, स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले सदैव महसुस गरें कि रोगको उपचार मात्र पर्याप्त हुँदैन । रोग जन्माउने संरचनात्मक असमानता हटाउन नसकिएसम्म समाजमा दिगो शान्ति र स्थायित्व आउँदैन । गाउँ–सहरबीच स्वास्थ्य पहुँचबीचको अमानताता र खाडल, शिशु र मातृ मृत्युदरले मलाई झकझक्याइरह्यो । सोही कारण म अमेरिकाबाट नेपाल फर्किएँ । 

नेपालमा तालिमप्राप्त चिकित्सक दुर्गममा जान चाहँदैनन् भन्ने आरोप धेरै लाग्थ्यो । अहिले पनि त्यो अवस्था छ । तर, अध्ययन गर्दै जाँदा मैले के बुझें भने समस्या चिकित्सकमा मात्र होइन, हाम्रो सम्पूर्ण चिकित्सा प्रणालीमै छ । ग्रामीण प्राथमिकताको अभाव, अवसरको असमानता र प्रणालीगत कमजोरीले गर्दा धेरै चिकित्सक विदेशतिरै जाने प्रवृत्ति बढेको रहेछ । यही समस्यालाई उल्ट्याउने संकल्प लिएर म चिकित्सक उत्पादन र चिकित्सा शिक्षा सुधारतर्फ सक्रिय भएँ । त्यही सिलसिलामा काठमाडौं विश्वविद्यालयसँग जोडिएँ । काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन गर्नका लागि ठूलो भूमिका खेलें । देश–विदेशका प्राध्यापक ल्याएर तीन वर्षसम्म चिकित्सा शिक्षालाई आधुनिक र व्यवहारिक बनाउने प्रयास गरें । केही हदसम्म म सफल पनि भएँ । तर, पछि त्यहाँको नेतृत्वसँग मैले चाहेको ‘ग्रामीण–उन्मुख’ दृष्टिकोण मेल खाएन । उनीहरू प्राविधिक शिक्षा मात्र दिनुपर्छ, त्यसपछि चिकित्सक कहाँ जान्छन् भन्ने मतलब राख्नुपर्दैन भन्ने मान्यता राख्थे । तर, म चाहन्थें—चिकित्सा शिक्षा समाजको आवश्यकता र ग्रामीण जनताको समस्यासँग जोडिनुपर्छ । कुरा नमिलेपछि त्यहाँबाट बाहिरिएँ । मेरो चाहना र सपना थियो कि ग्रामीण भेगमा जन्मेहुर्केका विद्यार्थीलाई चिकित्सक बन्न प्रेरित गर्ने । किनकि गाउँमै जन्मेहुर्केका विद्यार्थी आफ्नै गाउँमा सेवा गर्न बढी इच्छुक हुन्छन् , सहरमा हुर्केकालाई गाउँ पठाउन कठिन थियो । 

त्यही सिलसिलामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भइयो । त्यसको मैले नेतृत्व गरें । हामीले एमबीबीएसको प्रवेश परीक्षाको संरचना नै परिवर्तन गरेपछि गाउँका विद्यार्थी पनि एमबीबीएस पढ्ने बाटो खुल्यो । प्रतिष्ठानले यसले ग्रामीण पृष्ठभूमिका धेरै विद्यार्थीलाई चिकित्सक बन्न उत्प्रेरित ग¥यो । पाटनले उत्पादन गरेका ५० प्रतिशत चिकित्सक अहिले सरकारी अस्पतालमा कार्यरत छन् । यसमा मलाई ठूलो गर्व छ । 

मैले जीवनमा पैसालाई होइन, सेवालाई प्राथमिकता दिएँ । यदि पैसा नै अन्तिम लक्ष्य भएको भए म अमेरिकाबाट कहिल्यै फर्किँदैन थिएँ । यो अवधिमा कति बिरामीको उपचार गरें, म आफैंलाई समेत हिसाब छैन । तर, समाजले मप्रति देखाएको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो । चिकित्सा शिक्षामा लाग्दै गर्दा नेपालको उच्च शिक्षामा पनि ठूलो समस्या रहेछ भन्ने पहिचान भयो । विद्यार्थी पासका लागि मात्रै पढ्ने प्रवृत्ति तोड्न हामीले नेपाल विश्वविद्यालय खोल्ने योजना अगाडि बढायौं । हामी अब समालोचना गर्न सक्ने, विश्लेषण गर्ने र सिर्जनात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने गरी काम गरिरहेका छौं । त्यसमा सफल पनि हुन्छौं भन्ने विश्वास छ । 

Share News