गिरिजादेखि देउवासम्म : महामन्त्री गगन थापामाथि दोहोरिएको कारबाही

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि पार्टी नेतृत्वको कारवाही नयाँ विषय होइन । करिब दुई दशकअघि विद्यार्थी राजनीतिमा सक्रिय रहँदा पनि उनी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कारवाहीमा परेका थिए । अहिले भने सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले उनलाई पार्टी सदस्यताबाटै निष्कासन गरेको छ ।

२०६० सालमा थापा नेपाल विद्यार्थी संघका महामन्त्री थिए । उक्त समयमा नेविसंघको कार्यकाल करिब छ महिना बाँकी रहँदै संगठनभित्र तीव्र विवाद र असन्तुष्टि देखिएको थियो । विद्यार्थी आन्दोलन, राजतन्त्रविरुद्धको उग्र अडान र संगठन सञ्चालन शैलीलाई लिएर कांग्रेस नेतृत्व असन्तुष्ट बनेको थियो ।

त्यतिबेला कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको केन्द्रीय कार्यसमिति नै भंग गर्ने निर्णय गरेका थिए । उक्त कार्यसमितिका सभापति गुरु घिमिरे थिए भने गगन थापा महामन्त्रीको भूमिकामा थिए । कोइरालाले व्यक्तिगत रूपमा गगन थापालाई मात्र कारवाही नगरी संगठनकै नेतृत्व संरचना भत्काउने कठोर कदम चालेका थिए । यसलाई विद्यार्थी संगठनमाथि पार्टीको प्रत्यक्ष हस्तक्षेपको रूपमा समेत हेरिएको थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार त्यो निर्णयले नेविसंघभित्रको नेतृत्व संकटलाई त तत्काल अन्त्य गरे पनि थापालाई राष्ट्रिय राजनीतिमा चिनिन थप मद्दत भयो ।

विद्यार्थी राजनीतिबाट बाहिरिएपछि थापा संविधानसभा सदस्य हुँदै क्रमशः कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पुगे । १४औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर महामन्त्री निर्वाचित हुनु उनको राजनीतिक उचाइको प्रमाण मानिन्छ।

तर इतिहास फेरि दोहोरिएको छ । यसपटक सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले गगन थापालाई पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा पार्टी सदस्यताबाटै निष्कासन गर्ने निर्णय गरेको छ । 

उहिले २०६० मा पार्टी नीतिविरुद्ध गतिविधि गरेकोमा थापा कार्यरत समिति नै भंग गरिएको यियो । त्यतिवेला थापा नेविसंघको महामन्त्री थिए । अहिले थापा पार्टीको महामन्त्री छन् । थापाले आफ्नो नेतृत्वमा विशेष महाधिवेशन आयोजना गर्दै पार्टीलाई चुनौती दिएका छन् ।

संयोग कस्तो भने थापा पार्टीमा दुई पटक कारवाहीमा परेका छन् र दुवैपटक उनी महामन्त्री रहेका थिए ।

Share News