विशेष महाधिवेशन विवाद : गगन–विश्वप्रकाशसहित कांग्रेस नेतामाथि कारबाही

बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो ।

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूलाई कारबाही गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहितका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले सहमहामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ । 

बैठकले उनीहरूलाई पाँच वर्षका लागि कारबाही गरेको हो । पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो ।

बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किनसमेत भनेको एक नेताले जानकारी दिए ।

बैठकमा नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताए । लेखक विशेष महाधिवेशन पक्षसँग दुई दिनदेखि वार्तारत रहेका थिए ।

अर्का नेता विमलेन्द्र निधिले बैठकपश्चात फुटको गतिविधि नरोकिएकाले तीन नेतालाई कारबाही गर्नुपरेको बताए।

महामन्त्रीद्वयको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी छ । कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन् । 

Share News