यसरी भयाे एसबिआई बैंकको शाखामाथि लुटपाट

कर्मचारीमाथि कुटपिट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंकका कर्मचारी मंगलबार साँझ घर हिँडिसकेका थिए । बैंकमै बस्ने तीन जना कर्मचारी खाना खान हिँडेका थिए । बैंकका सुरक्षा गार्ड रुद्र कार्की बैंकको सुरक्षासँगै खाना पनि पकाउँदै थिए । 

साढे ६:३० बजेको समयमा ६ जनाको समूह बैंकमा प्रवेश गर्यो । त्यो समूहले सुरुमै सुरक्षा गार्ड रुद्र कार्कीलाई प्रहार गर्यो । उनको हातमा ठूलो चोट लाग्यो । उनी घाइते भए । त्यसपछि उनीहरूको टार्गेटमा कर्मचारीहरू परे । त्यो समूहले बैंकमा रहेका कर्मचारीको हात बाँधे । कर्मचारीहरू प्रतिवाद गर्न नसक्ने अवस्थामा पुगे । लुटेराहरूले धमाधम बैंकको नगद बोरामा राखे ।​​​​​​​


बैंकका सुरक्षा गार्ड कार्कीले आफू भान्सामा खाना पकाइरहेको बेला आएर आक्रमण गरेको जानकारी दिए । उनका अनुसार उनी भान्सामा खाना पकाइरहेका थिए भने बैंकका तीन जना कर्मचारी खाना खान गएका थिए । 
 

‘म भान्सामा खाना पकाइरहेको थिएँ । अचानक ६ जनाको समूह आयो, चार जनाले खुकुरी देखाए भने दुई जनाले पेस्तोल देखाए । मलाई खुकुरीले पनि प्रहार गरे, हात बानेर राखे । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी आएर ढोका खोलेपछि हामी बाहिर आएका हौं । मुखुण्डो लगाएर आएका थिए । मान्छे पहिचान नै गर्न सकेनौं,’ कार्कीले भने । 

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार सुरक्षा गार्ड र कर्मचारीमाथि कुटपिट गरेपछि लुटेराहरूले स्वतन्त्र रूपले बैंक लुट्न पाए ।  लुटेराहरूले बैंकमा भएको नगद बोरामा लगेर जंगलतर्फ लागेको उनले जानकारी दिए । 

सुवेदीका अनुसार लुटपाट लगत्तै इलाका प्रहरी कार्यालय, बस्तीपुरको टोली घटनास्थल पुगेको थियो । मंगलबार राति नै प्रहरी र स्थानीय मिलेर जंगल तथा आसपासका क्षेत्रमा लुटेराको खोजी गर्दा एक करोड ८० लाख रुपैयाँ नगद फेला परेको उनले जानकारी दिए । 

अहिले चार जना लुटेरा पनि पक्राउ भइसकेको सुवेदीले जानकारी दिए । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको उनले बताए ।

घ्याङलेख काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम स्थानीय तह हो । बैंकले भने ३ करोड बढी रुपैयाँ लुटपाट भएको जानकारी दिएको छ । १० वर्षअघि पनि रौतहटको चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकको शाखामा पनि लुटेराहरूले गोली चलाएर लुटपाट गरेका थिए । 

Share News