नेपाली बैंक तथा वित्तीय क्षेत्रमा पृथक पहिचान बनाउन सफल बैंक हो, नबिल । सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंकका रूपमा स्थापित नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गरेको छ ।
कुनैबेला मुलुकमा साहु तथा महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । उच्च सरकारी अधिकारीहरूसँग पहुँच हुने वर्गमा सीमित बैंकिङलाई पहुँच नहुने वर्गसामु पुर्याउन नबिलले ठूलो मिहिनेत गर्यो । चिटिक्क परेको बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरूलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्यो । आज घरबाटै बैंकिङ, मोबाइलबाटै कारोबार गर्ने अवस्थामा समाजलाई पुर्याउने नबिल बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
त्यसैले पनि बैंकिङ क्षेत्रमा नबिल बैंकप्रतिको विश्वास उच्च छ । बैंकमा पूर्ण विश्वाससहित ढुक्कले पैसा राख्ने र ऋण लिने अभ्यासले प्रसय पाएको छ । ढड्डा र घर्राबाट चल्ने पुरानो ढर्राको बैंकिङ अभ्यासलाई नबिलले प्रविधिमैत्री बनाएर बैंकिङ कारोबारलाई पूर्णरूपमा कम्प्युटराइज गर्न सफल भएको छ । र, सेवाग्राहीलाई पनि त्यसमा अभ्यस्त पार्दै लगेको छ ।
नबिलले पहिलो पटक आधुनिक कम्प्युटराइज्ड बैंकिङ प्रणाली सुरु गर्दै सेवामुखी प्रतिस्पर्धात्मक बैंकिङ वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यस अवधिमा नबिलले बैंकिङ क्षेत्रमा प्रविधिमा नेतृत्व, पूर्वाधार तथा उत्पादक क्षेत्रमा उच्च कर्जा प्रवाह र राजस्व योगदानमार्फत राष्ट्रिय विकासमा महत्त्वपूर्ण टेवा पुर्याएको छ ।
नबिल बैंक निरन्तर रूपमा नेपालको बैंकिङ क्षेत्रमा आधुनिकीकरणको नेतृत्वकर्ताको रूपमा आफूलाई चिनाउँदै आएको छ । बैंकले सन् १९९२ मा नेपालको इतिहासमै पहिलो पटक क्रेडिट कार्ड सेवा सुरु गरेर आफूलाई लिडरका रूपमा परिचित गरायो भने त्यसपछि एटीएम तथा पीओएस सेवाहरूको विस्तारले भुक्तानी प्रणालीलाई डिजिटल बनाउन बैंकिङ क्षेत्रमै पायोनियर बैंकका रूपमा चिनाउन सफल भयो ।

पछिल्ला वर्षहरूमा नबिलले डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै छिटो, सरल र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गरिरहेको छ । नबिलको ‘एन बैंक’ एप तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीले शाखा धाउनु नपर्ने वातावरण सिर्जना भएको छ । बैंकमा खाता खोल्न तथा वित्तीय कारोबार गर्न भौतिकरूपमा शाखा कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभ्यासमा नबिलले अग्रणी भूमिका खेलिरहेको छ । यसले सेवाग्राहीको समय तथा यात्रा खर्च मात्रै घटाएको छैन, शाखामा पुग्न नसक्ने आम नागरिकलाई पनि सहज बैंकिङ पहुँच विस्तार गरिदिएको छ ।
नबिल बैंकले डिजिटल तथा रोबोटिक प्रोसेस अटोमेशनद्वारा काम गर्दै आएको छ । यसले सेवाको गुणस्तर, समय व्यवस्थापन तथा दिगो बैंकिङलाई मजबुत बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।
सीईओ ज्ञवालीका अनुसार नबिल बैंकको विकास योगदानको मूल आधार नै वित्तीय समावेशीकरण हो । बैंकले सेवाविहीन तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा शाखा तथा सेवा विस्तार गरेर दूरदराजका समुदायलाई पनि औपचारिक रूपमा बैंकिङ प्रणालीमा ल्याएको छ । यसले बचत गर्ने बानीको विकास, सुरक्षित तथा पारदर्शी वित्तीय सेवामा पहुँच, उद्यमशीलता प्रवर्द्धन तथा वित्तीय जोखिम व्यवस्थापनमा सहयोग पुर्याएको उनको दाबी छ।
पूर्वाधार निर्माण र ऊर्जा विकासमा अग्रणी बैंक
नबिल बैंकले नेपालको पूर्वाधार तथा ऊर्जा क्षेत्रमा रूपान्तरणकारी भूमिका खेलेको छ । नेपालमा पूर्वाधार बैंक नहुँदा नै नबिलले परियोजना फाइनान्सिङ र कर्पोरेट/होलसेल बैंकिङको क्षमता विकास गरेर व्यवसायीको मन जितेको थियो । र, अहिले पनि व्यवसायीको कारोबारका लागि नबिल नै रोजाइमा पर्ने गरेको छ।
नबिलले सन् १९९८ मा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा लगानी गरेर निजी क्षेत्रको ऊर्जा विकासमा नयाँ अध्यायको सुरुवात गरेको थियो । यो आयोजना निजी क्षेत्रबाट विकास भएको एक मेगावाटभन्दा ठूलो क्षमताको पहिलो आयोजना थियो । जलविद्युत् आयोजनामा वित्तीयकरण गर्ने पहिलो व्यावसायिक बैंक नै नबिल हो ।

सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले सुरुदेखि नै जलविद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । जलविद्युत परियोजनाहरू जटिल र जोखिमपूर्ण भए पनि नबिलको सो कदमले ऊर्जा क्षेत्रमै विश्वास जगाएको छ । र, अन्य बैंकहरूलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्न नबिलले नै प्रेरित गर्यो । आज बैंकहरूको लगानीको मुख्य क्षेत्र नै जलविद्युत क्षेत्र बनिरहेको छ । हाल ऊर्जा क्षेत्रमा नबिलको योगदान झनै व्यापक छ । जलविद्युत्, सौर्य, नवीकरणीय ऊर्जा, विद्युतीय सवारीसाधन र अन्य ऊर्जा परियोजनामा नबिलले लगानी बढाउँदै गएको छ ।

नबिल बैंकले १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४ अर्ब ४६ करोड, ७३ मेगावाटको सानिमा मध्य तमोरमा १ अर्ब ६७ करोड, ४० मेगावाटको माथिल्लो चमेलियामा २ अर्ब १४ करोड र ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँ लगानी गरेको छ ।
बढ्दै गएको लगानीले नेपालको ऊर्जा उत्पादन, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक दिगोपनामा योगदान पुगिरहेको सीईओ ज्ञवालीको धारणा छ । उनका अनुसार नबिल सौर्य ग्रिड परियोजनामा पनि प्रवेश गरेको छ । जसले हरित ऊर्जा तथा सुक्खा महिनाको ऊर्जा सन्तुलन गर्न सहयोग गर्नेछ ।
सीईओ ज्ञवालीले बैंकले ऊर्जा क्षेत्रमा कुल ७५ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता गरेको जानकारी दिए । बैंकले प्रतिबद्धता गरेको विद्युतको क्षमता ३ हजार १६४.२२ मेगावाट हो । बैंकले हालसम्म ५४ वटा जलविद्युत परियोजनामा लगानी गरेको छ, जसमध्ये चारवटा सौर्य ऊर्जा परियोजना पनि छन् ।
नबिलकै साथ सहयोगमा ४५६ मेगावाटको अपर तामाकोशी जलविद्युत परियोजना निर्माण हुन सफल भयो । बैंकले सो जलविद्युतको उपकरणहरू भित्र्याउनका लागि आवश्यक प्रतितपत्र (एलसी)को व्यवस्था गरिदिएको थियो । त्यस समयमा बैंकको पुँजी सानो हुँदा पनि यति ठूलो प्रतिबद्धता कठिन थियो । तर, नबिलले जोखिम साझेदारीसहित नेतृत्व गर्दै बैंकिङ क्षेत्रमा नयाँ काम सम्पन्न गरी आफूलाई अब्बल बैंकका रूपमा चिनाएको थियो । यसले अन्तर्राष्ट्रिय बैंक तथा लगानीकर्ताहरूमाझ नेपाली बैंकमाथि विश्वास बढाएको सीईओ ज्ञवाली बताउँछन्।
नेपालभर सडक, पुल, अस्पताल, कार्यालय भवन, जलविद्युत, राजमार्ग निर्माण गर्ने ठेकेदारहरूलाई आवश्यक बैंक ग्यारेन्टी, कर्जा सुविधा तथा अन्य वित्तीय उपकरण प्रदान गर्दै नबिल निर्माण क्षेत्रको विकासको एक महत्वपूर्ण स्टेक होल्डर बन्दै आएको छ । सार्वजनिक खरिद ऐन अनुसार ठेकेदारले बैंक ग्यारेन्टी सुविधाबिना निर्माण कार्यको बिड गर्न सक्दैनन् । नबिल बैंककै अग्रणी भूमिका र सहयोगले ठूल्ठूला परियोजनाहरू निर्माणमा टेवा पुगेको बैंकले दाबी गरेको छ ।
नबिलले सिमेन्ट, उड्डयन, दूरसञ्चार तथा ठूल्ठूला उद्योगहरूको स्थापना र विस्तारका लागि कर्जा विस्तार गरेर देशको अर्थतन्त्रमा सहयोग गरिरहेको छ । बैंकका अनुसार हालसम्म १० वटा सिमेन्ट उद्योगमा ८.५ अर्ब कर्जा लगानी भइसकेको छ । प्रत्येक दिन २६ हजार ५०० टन उत्पादन क्षमता सिमेन्ट उद्योगमा उक्त लगानी भएको हो । बैंकले कुल क्षमताको ३५ प्रतिशत अर्थात् लगानी गरेको जनाएको छ । जसले कुनै बेला आयात गर्नुपर्ने बाध्यतामा रहेको सिमेन्ट क्षेत्र अहिले निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ । नेपालबाट अहिले सिमेन्ट निर्यातसमेत हुन थालेको छ ।
कर भुक्तानी र सामाजिक कार्यमा सधैं अगाडि
नबिल बैंकले कर भुक्तानीमार्फत राज्यलाई पनि ठूलो योगदान गरेको छ । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमध्ये सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नबिल ८ पटकसम्म सरकारबाट सम्मानित भइसकेको छ । आयकर ऐनको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले नाफामा ३० प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ ।
आर्थिक वर्ष २०६७/६८ मा बैंकतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमा नबिल बैंक पहिलो पटक सम्मानित भएको थियो । त्यसपछि आव २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७९/८० मा उत्कृष्ट करदाता बनेर सरकारबाट सम्मानित भएको थियो । बैंकले पछिल्लो एक दशकमा मात्रै साढे १९ अर्ब रुपैयाँ कर तिरेको बैंकको वित्तीय विवरणबाट देखिन्छ ।
बैंकले डिजिटल तथा औपचारिक बैंकिङ विस्तारले आर्थिक क्रियाकलाप पारदर्शी बनाउने, सुशासन बलियो बनाउने तथा दीर्घकालीन आर्थिक स्थिरता स्थापित गर्न मद्दत गरेको छ ।

नबिल बैंक सूचकमात्र अब्बल र अगाडि छैन, जनजीवनमा पनि ठूलो प्रभाव पारेको छ । नबिल सस्टेनेबल बैंकिङका माध्यमबाट सामाजिक क्षेत्र र सुशासनमा आधारित बैंकिङ अभ्यास गर्दै आएको छ । बैंकले प्रत्यक्षरूपमा हजारौंलाई रोजगारीमात्रै प्रदान गरेको छैन, देशमा समस्या परेको बेला ठूलो सहयोग पनि गर्दै आएको छ ।
बैंकले २०७२ को महाभूकम्पको समयमा प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख, दुई वर्षअघि रुकुम–पश्चिम र जाजरकोटमा भूकम्प जाँदा ९६ अस्थायी घर निर्माण गरिदिएको थियो भने बाढीपीडित ९० परिवारलाई फ्लड–सपोर्ट किट सहयोग गरेको थियो ।
यस्तै, कोभिडको समयमा वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सरकारी राहत कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको थियो भने सिन्धुपाल्चोकमा भूकम्प जाँदा ३१ घरधुरीलाई राहत सामग्री वितरण गरेको थियो । चार वर्षअघि टीकापुरमा बाढी आउँदा १ हजार बढी घरपरिवारलाई खाद्यान्न वितरण गरेको थियो ।
शिक्षाबाट पछाडि परेका समुदायका विद्यार्थीहरूको लागि छात्रवृत्ति, सरकारी विद्यालयहरूमा शैक्षिक सामग्री र डिजिटल सिकाइका उपकरणका साथै ब्रेल सामग्रीजस्ता समावेशी सिकाइ सहयोग उपलब्ध गराउन नबिल बैंक अग्रपङ्क्तिमा आउँछ । नबिलले १०४ वटा विद्यालयमा नबिल स्वच्छ खानेपानी अभियान सञ्चालन गरेर ९० हजार बढी शिक्षक तथा विद्यार्थीलाई लाभान्वित बनाएको छ । विद्यालयका किशोरीलाई सेनिटरी प्याड वितरण गरेर ५० हजार बढीलाई लाभान्वित बनाएको छ ।
यसैगरी, निःशुल्क कृत्रिम अंग वितरण, जटिल शल्यक्रिया तथा विशेष स्वास्थ्य आवश्यकता भएका व्यक्तिहरूका लागि सहयोग, विपन्न समुदायहरूका लागि स्वास्थ्य शिविर तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक चिकित्सा उपकरण उपलब्ध गराउने जस्ता पहलहरू गरेको छ ।
नबिल बैंकले युवाहरू, महिला समूह, साना तथा मध्यम उद्योग (एसएमई) र समुदायहरूलाई लक्षित गरी नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (नबिल एसएसई) मार्फत बैंकले विभिन्न व्यक्ति तथा स्टार्टअपहरूलाई दिगो सामाजिक उद्यम निर्माण गर्न मद्दत गरिरहेको छ । जसले जीविकोपार्जन र रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ ।
नबिल बैंकको यो अभियानले डिजिटल वित्तीय साक्षरता तथा ठगी सचेतनासहित करिब ४० हजार मानिस लाभान्वित भएका छन् भने ११ हजार बढीले नबिल एसएसईको तालिम लिएका छन् । यही अभियानबाट १९३ वटा सामाजिक उद्यम स्थापना भई १७ हजारले रोजगारी पाएको नबिलको दाबी छ । बैंकले अर्थतन्त्रमा योगदानसँगसँगै सामाजिक कार्य अन्तर्गत ‘क्लिन हिमालय’ अभियान अन्तर्गत ४५ टन फोहोर व्यवस्थापन गरेको दाबी गरेको छ ।
स्वस्थ सूचक, अब्बल प्रतिफल
बैंकले समाज र देशको अर्थतन्त्रसँगै बैंकका सेयरधनीलाई पनि राम्रो प्रतिफल वितरण दिइरहेको छ । बैंकका हरेक वित्तीय सूचकहरू अब्बल देखिन्छन् । पछिल्लो वित्तीय विवरणअनुसार नबिलले ५ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सेयर पुँजी २७ अर्ब ५ करोड, जगेडा कोष ३२ अर्ब ४३ करोडसहित बैंकको कुल पुँजी कोष ६५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
बैंकले वित्तीय बजार, सरकार, सर्वसाधारण र सेयरधनीलाई पनि प्रत्येक वर्ष खुसी बनाउँदै गएको छ । बैंकले हालसम्म अधिकतम १४० प्रतिशतसम्म लाभांश वितरण गर्दै आएको छ भने विगत तीन दशकदेखि कुनै पनि वर्ष सेयरधनीको हात खाली गरेको छैन ।

नबिल बैंकलाई उच्च बिन्दुमा पुर्याउन यसका संस्थापक सेयरधनी र यस बैंकको व्यवस्थापकीय नेतृत्वमा बसेर काम गर्नेहरूको ठूलो योगदान छ । यस बैंकको मुख्य सेयरधनीहरूमा एनबी इन्टरनेशनल (३९.४४ प्रतिशत), आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेश (७.७७ प्रतिशत), राष्ट्रिय बीमा कम्पनी (७.६३ प्रतिशत), निर्वाणकुमार चौधरी (०.७० प्रतिशत) र वरुण चौधरी (०.६७ प्रतिशत) रहेका छन् । बैंकमा स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ ।
फोर्ब्स सूचीमा रहेका अर्बपति विनोद चौधरी यस बैंकको मुख्य लगानीकर्ताको रूपमा परिचित छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै विभिन्न समयमा बैंकर्स ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिल केशरी शाह, सशीन जोशी, अनिल ज्ञवालीसहितले यस बैंकलाई वर्तमान अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । नबिल बैंकको पहिलो अध्यक्ष सशीनारायण शाह, त्यसपछिका सत्यान्द्रप्यारा श्रेष्ठदेखि अहिलेका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकलाई यो स्थानसम्म पुर्याउन महत्त्वपूर्ण योगदान गरेका छन् ।
नबिल बैंकले आधुनिक बैंकिङ, डिजिटल भुक्तानी, जलविद्युतमा वित्तीयकरण लगायतमा अग्रणी भूमिका खेलेको छ । बैंकले ऊर्जा परियोजना तथा ठूला पूर्वाधारहरूमा नेतृत्व गरेर राष्ट्र निर्माणको एक महत्त्वपूर्ण स्टेक होल्डरका रूपमा आफूलाई चिनाएको छ । बैंकले उद्योग, सिमेन्ट, सेवा क्षेत्रमा सहभागितामार्फत घरेलु उत्पादन तथा रोजगार प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, विपद् राहत, वित्तीय साक्षरता, सामाजिक उद्यमशीलतामा व्यापक योगदान गरेकै कारण आज विकास नायकका रूपमा आफूलाई उभ्याएको छ ।
मनोज ज्ञवालीकै शब्दहरू :
नबिल देशको पहिलो ज्वोइन्ट भेञ्चर बैंक हुँदै सुरुवाती दिनहरूमा बैंकिङ सेवा सर्वसाधारणसम्म पुर्याउन सफल भयो । बैंकको सबै लेखाजोखा कागजात तथा पासबुक र ढड्डामा हुने बैंकिङ अभ्यासलाई रूपान्तरण गर्दै नबिलले सबै हिसाब–किताबलाई कम्प्युटराइज गर्ने कामको थालनी गर्यो । बैंकको डेभिट तथा क्रेडिट कार्डको इनोभेसनमा पनि नबिल पहिलो बैंक हो । त्यतिबेलादेखि अहिलेसम्म नबिल विभिन्न प्रडक्टहरूमा पनि पायोनियर बैंकको रूपमा काम गर्दै आएको छ । अहिले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने काम पनि बैंकिङ क्षेत्रमै पहिलो हो ।
विविध प्रडक्ट, सेवा र इनोभेसनमा नबिल पायोनियर नै हो । १/२ लाख रुपैयाँ कर्जा लिएका उद्यमी, व्यवसायीहरू अहिले अर्बौंको नेटवर्थमा काम गरिरहेका छन् । नबिलले ऊर्जा तथा ठूला पूर्वाधारमा ठूलो रकम लगानी गरेर त्यो क्षेत्रका विकासमा ठूलो योगदान दिएको छ । परियोजना फाइनान्सिङ तथा ग्यारेन्टीमा हामीले उच्च जोखिम लिएर पनि देश निर्माणमा साथ दिइरहेका छौं । हामी देश बनाउने काममा सक्रिय छौं । सेवाग्राहीको मागअनुसारको प्रडक्ट ल्याउने र त्यो सँगै देशलाई योगदान दिनुपर्ने ठाउँमा पनि नबिल अगाडि छ । नबिल संस्थागत सुशासनमा अडिग छ । जहिले पनि हामी सस्टेनेवल बैंकिङको नारा लिएर काम गरिरहेका छौं ।
हामी निरन्तर बढी कर तिर्ने बैंकका रूपमा सम्मानित हुँदै आएको छौं । बैंकमा काम गर्न चाहनेहरूका लागि पनि नबिल पहिलो रोजाइमा छ । सेयरधनीको प्रतिफलमा पनि नबिल अगाडि छ । विगतमा हामी सबैभन्दा बढी लाभांश दिने बैंकका रूपमा परिचित थियौं । अहिले पनि १२.५ प्रतिशत लाभांश घोषणा गरेका छौं । मर्जरको कारणले लाभांश अहिले केही घटेको हो । बैंक कम्प्लायन्स, संस्थागत सुशासन, कर्मचारीको हकहितका लागि पहिलो रोजाइ बन्दै आएको छ । सगरमाथाको चुचुरोमा पुग्नुभन्दा बसिराख्न चु्नौती हुन्छ । हामी ठूलोभन्दा पनि बेस्ट बैंक भन्ने दौडमा छौं ।
नबिल बैंक भन्नेवित्तिकै जुन कन्फिडेन्स अहिले बजारमा छ, त्यसलाई थप मजबुत र विस्तार गर्न लागिरहेका छौं । नबिल बैंक अहिले ठूला सहरमा मात्रै होइन, दूरदराजमा पनि सेवा दिइरहेको छ । दूरदराजका शाखामा नाफा नभए पनि सेवाको हिसाबले देशभर २६८ शाखामार्फत काम गरिरहेका छौं । उद्यमीको विकास हुनुपर्छ भनेर नबिल स्कुल अफ सोसियल इन्टरपेनरसिप (एसएसई) सुरु गरेका छौं । त्यसले उद्यमीसँगै रोजगारी सिर्जना गर्ने काम गरेको छ । सातै प्रदेशमा उद्यमको विकासमा काम गरिरहेका छौं ।
बैंकिङ क्षेत्रले छरिएर रहेको पैसालाई एकीकृत गरेर कर्जा प्रवाह गर्ने हो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले वित्तीय विवरणमात्रै हेर्यो । हामीले संकलन गरेको निक्षेपले कति व्यवसाय विस्तारमा काम गर्यो ? देशको जीडीपीमा कति काम गर्यो । रोजगारी कति सिर्जना गर्यो । अर्थतन्त्रमा के कस्तो प्रभाव गर्यो ? भन्ने विषय बुझ्नुपर्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि बैंकसँगै त्यो क्षेत्र र देशलाई हेर्ने हो ।
अबको बैंकिङ डिजिटल बैंकबाट अगाडि बढ्छ । अब कर्जा प्रवाह पनि डिजिटलबाट हुनुपर्छ । त्यसको लागि पूर्वाधार निर्माण गरेर त्यसमा पनि लाग्नुपर्छ । नबिल डिजिटल बैंकिङमा थप अगाडि हुन चाहन्छ । घरबाटै बैंकिङ सेवासँगै सुरक्षित बैंकिङ गर्नका लागि हामीले तयारी गरिरहेका छौं । हामीले गरेको लगानीले समाज र वातावरणमा सकारात्मक प्रभाव पार्नुपर्छ । हामीले गरेको कामलाई मूल्यांकन गर्दै विकासन्युज जस्तो प्रोफेसनल मिडियाले विकास नायक अवार्डबाट नबिल बैंकलाई सम्मान गर्न लागेको विषय धेरै महत्त्वपूर्ण हो । यसबाट हामी धेरै खुसी छौं । यसले हामी र समग्र बैंकिङ क्षेत्रलाई आगामी दिनमा थप परिष्कृत भएर काम गर्न उत्प्रेरित गर्छ ।