नेपाल बैंकको डीसीईओ बने खड्का, एसीईओमा काफ्ले नियुक्त

काठमाडौं । नेपाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्का र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ)मा दीपेन्द्रराज काफ्ले नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले खड्कालाई डीसीईओ र काफ्लेलाई एसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो । 

कार्यसम्पादन र अन्य मूल्याङ्कनका आधारमा दुवै जनालाई बढुवा गरेको बैंकले जनाएको छ । नुवाकोट स्थायी घर भएका खड्का यसअघि सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा कार्यरत थिए । खड्का भन्दा सिनियर रहेका एसीईओ विश्वराज बराल र प्रकाश अधिकारीलाई पछि पार्दै डीसीईओ पदमा बाजी मारेका हुन् । 

बराल, अधिकारी र खड्का तीनै जना विसं २०६१ भदौ १ गते एकै दिन नेपाल बैंक प्रवेश गरेका थिए । तर, कार्यसम्पादन लगायत मूल्याङ्कनका आधारमा बराल र अधिकारी खड्का भन्दा सिनियर थिए । बराल र अधिकारी आगामी फागुन २१ गते अनिवार्य अवकाशमा जाँदैछन् । 

साथै खड्का डीसीईओमा बढुवा भएपछि एसीईओमा एक पद रिक्त हुनेछ । रिक्त रहेको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बैंक सञ्चालक समितिले काफ्लेलाई नियुक्त गरेको हो । यअसघि निमित्त एसीईओ रहेका काफ्लेलाई सञ्चालक समितिले एसीईओमा बढुवा गरेको हो । स्याङ्जाका काफ्ले २०६१ कात्तिक १६ गते नेपाल बैंक प्रवेश गरेका थिए । 

Share News