कांग्रेस बन्दसत्र : विधान संशोधन र शासकीय सुधार प्राथमिकतामा, नेतृत्व निर्वाचन एजेन्डामा छैन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार (आज)देखि सुरु हुने बन्दसत्र अब केही छिनमै सुरु हुने भएको छ । 

बिहान ८ बजे सुरु हुने भनिए पनि खानापछि मात्रै बन्दसत्र सुरु हुने नेता रमेश धमलाले बताए । उनका अनुसार बिहानको खाना खानेक्रम सकिएको छ । अब केहीबेरमा बन्दसत्र सुरु हुन्छ ।

अर्का नेता मनोजमणि आचार्यका अनुसार आजको बन्दसत्रमा चार प्रमुख विषयमा  छलफल हुने भएको छ । पार्टीका नेता आचार्यका अनुसार विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक विषयलाई केन्द्रमा राखेर गहन बहस गरिनेछ ।

महाधिवेशन प्रतिनिधिहरूबीच पार्टीको विधानलाई समयानुकूल परिमार्जन गर्ने, नीति निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने र नेतृत्व चयन प्रणालीमा देखिएका कमजोरी सुधार्ने विषयमा विभिन्न धारणा प्रस्तुत हुने अपेक्षा गरिएको अर्का नेता रामप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार पार्टी सञ्चालन र सरकारमा रहँदा देखिएका शासकीय चुनौती, पारदर्शिता, जवाफदेहिता तथा सुशासनका सवालमा समेत छलफल छ ।

नेता अधिकारीले बन्दसत्रमार्फत पार्टीभित्र देखिएका असन्तुष्टि र मतभिन्नतालाई संस्थागत रूपमा सम्बोधन गर्ने प्रयास हुने जानकारी दिए । नेता आचार्यका अनुसार चारै विषयमा खुलेर बहस हुनेछ, जसले पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउनेछ ।

समसामयिक विषयअन्तर्गत मुलुकको राजनीतिक अवस्था, लोकतान्त्रिक अभ्यास, संघीयता कार्यान्वयन र आर्थिक–सामाजिक मुद्दामा पार्टीको स्पष्ट धारणा तय गर्ने तयारी छ । महाधिवेशन प्रतिनिधिहरूले प्रस्तुत गर्ने सुझाव र प्रस्तावका आधारमा पार्टीको आगामी कार्यदिशा निर्धारण हुने नेताहरूको भनाइ छ ।

नेताहरूका अनुसार नीतिमा गम्भीर बहस हुने तय भएपनि नेतृत्वको निर्वाचनका बारेमा छलफल भएको छैन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वको विषयमा आन्तरिक छलफल गरे पनि महाधिवेशन प्रतिनिधिसँग यस विषयमा छलफल नगरेको अधिकारीले जानकारी दिए ।

Share News