काठमाडौं । विभिन्न ४ वटा बैंक तथा लघुवित्त वित्तीय संस्थाबाट एक दर्जन संस्थापक सेयरधनी बाहिरिने भएका छन् । हिमालयन बैंकका ६ जना, लुम्बिनी विकास बैंकका २ जना, आरएसडिसी लघुवित्तका २ जना र छिमेक लघुवित्तका १ जना गरी १२ जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् । उनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर संस्थाबाट बाहिरिन लागेका हुन् ।
हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ६ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७३ हजार ६९ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।
बैंकका अनुसार संस्थापक सेयरधनी जीत कुमार श्रेष्ठले २० हजार ४८२ कित्ता, घनमान बज्राचार्यले १९ हजार ४९२ कित्ता, जयन्त कुमार अग्रवालले १ सय कित्ता, हरिप्रसाद भट्टराईले ५ हजार २८८ कित्ता, महेन्द्रनाथ कर्माचार्यले २० हजार २९७ कित्ता र तुलसीराम नेपाल ७ हजार ४०९ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यस्तै, लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनी कान्छा गुरुङ्गले १ लाख कित्ता र मान श्रेष्ठले २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाका केशब प्रसाद भण्डारीले १० हजार ५९२ कित्ता, शालिकराम भण्डारीको १७ हजार ५८० कित्ता र कमला न्यौपानेको २० हजार ६३२ कित्ता गरी ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।
यस्तै, छिमेक लघुवित्तका संस्थापक सेयरधनी सुनिल कुमार रायले आफ्नो नाममा रहेको २३ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।