काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार रुकुमपश्चिम पुगेका प्रचण्डले आफ्ना पूर्वसहकर्मी तथा प्रभावशाली नेता जनार्दन शर्माको गृहजिल्लामा आयोजित आमसभामालाई सम्बोधन गर्दै आफू रुकुम–पूर्ववाट निर्वाचन लड्ने बताएका हुन् ।
दाहालले आफू लुम्बिनी प्रदेशको एकमात्रै निर्वाचन क्षेत्र रहेको पूर्वी–रुकुमवाट निर्वाचनमा प्रतिष्पर्धा गर्ने बताउँदै अव बारम्बार रुकुम आइरहने दावी गरे ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बलालका अनुसार पार्टी संयोजक दाहाल रुकुम–पूर्वबाट निर्वाचन लड्ने निश्चित भएको छ ।
हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै लगातार जित हासिल गर्दै आएका प्रचण्डको यो निर्णयले रुकुम-पूर्वको राजनीतिक माहोल थप तताएको छ ।
दाहाल २०६४ चैत्र २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० र रोल्पाबाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा दाहालले दुवै निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका थिए ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं १० र सिराहा- ५ बाट प्रतिस्पर्धा गरेका थिए । उक्त निर्वाचनमा दाहालले सिराहाबाट निर्वाचन जित्दा काठमाडौंबाट पराजय भोगेका थिए ।
२०७२ मा संविधान सभाले संविधान जारी गरेपछि भएको २०७४ को आम निर्वाचनमा चितवनबाट निर्वाचन जितेका थिए भने २०७९ मा गोरखाबाट विजय हासिल गरेका थिए ।