काठमाडौं । इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ । निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र हुने सरकारको दाबी छ ।
यस महत्त्वाकाङ्क्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस विमानस्थलले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ । परियोजना सम्पन्न गर्न करिब ५ वर्ष लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय ध्वजावाहक इथियोपियन एयरलाइन्सको आंशिक लगानीमा निर्माण हुन लागेको बिशोफ्टु हबले हाल राजधानीमा सञ्चालनमा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । बोले विमानस्थलले अहिले वार्षिक करिब २ करोड ५० लाख यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता राख्छ ।
प्रधानमन्त्री अबी अहमदले शनिबार यस परियोजनालाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ का रूपमा उल्लेख गर्दै यसको निर्माण सुरु भएको औपचारिक घोषणा गरे । उनले बहु-विमानस्थल रणनीतिले इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई यातायात प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट पारे ।
उनका अनुसार यस परियोजनाले इथियोपियन एयरलाइन्सको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउनेछ । साथै यसले अफ्रिकी मुलुकहरूबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार र पर्यटनका मार्गहरूलाई थप मजबुत बनाउनेछ । दीर्घकालीन रूपमा इथियोपियालाई प्रमुख अन्तरमहाद्वीपीय हबको रूपमा उभ्याउने सरकारको विश्वास छ ।
यस विशाल विमानस्थल परियोजनाअन्तर्गत नयाँ हवाई अड्डालाई राजधानीसँग जोड्ने बहु-लेन मोटरवे निर्माण गरिनेछ भने ३८ किलोमिटर लामो उच्च-गतिको रेलमार्ग पनि समावेश गरिएको छ । प्रधानमन्त्री अहमदले उक्त रेलमार्गले प्रतिघण्टा २०० किलोमिटर (१२४ माइल) को गतिसम्म पुग्न सक्ने जानकारी दिए ।
परियोजनाको वित्तीय पक्षमा अफ्रिकी विकास बैंकले ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको छ । साथै इथियोपियाली अधिकारीहरू एसियाली विकास बैंक, युरोपेली लगानी बैंक र अमेरिकी विकास वित्त निगमसँग थप लगानी जुटाउने विषयमा छलफलमा रहेको बताइएको छ ।
अम्हारा र ओरोमिया क्षेत्रहरूमा जारी सशस्त्र द्वन्द्वका बाबजुद पनि इथियोपियाले यस परियोजनामार्फत विदेशी पर्यटन आकर्षित गर्ने अपेक्षा राखेको छ । बिशोफ्टु क्षेत्रमा निर्माण हुन लागेको भविष्यको विमानस्थल ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिनेछ ।
इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मेसफिन तासेव बेकेलेले गत नोभेम्बरमा बताउनुभए अनुसार यस परियोजनाका कारण करिब २ हजार ५०० किसान विस्थापित भएका छन्, जसलाई सरकारले गत वर्ष करिब ३५ करोड अमेरिकी डलर खर्च गरेर पुनःस्थापना गरेको थियो ।
करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पछिल्ला वर्षहरूमा यस मुलुकले ठूला-ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइरहेको छ । गत वर्ष इथियोपियाले महादेशकै सबैभन्दा ठूलो बाँधको औपचारिक उद्घाटन गरेको थियो भने आदिस अबाबा लगायत अन्य प्रमुख सहरहरूमा व्यापक सहरी नवीकरण परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।