काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताएका छन् । उनले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गरे ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी/व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पारे ।
उनले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताए । ‘कुनै उद्योग-व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ,’ अध्यक्ष ढकालले भने ।
उनले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासंघले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिए । वर्तमान सरकारको मन्त्रिपरिषदले यथाशीघ्र यसबारे निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।
राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उनले दाबी गरे ।
‘मेरो कम्पनी अन्तर्गत काम गर्ने २० हजार छन् । एक जनाले ५ जनाको परिवार पालेका छन् । एक लाख मानिस आश्रित छन् । मेरो टाउकोमा अरबौको ऋण छ । मैले छोडे भने १ लाख रोजगारीको अवस्था के होला ? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन,’ उनले भने ।
अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गरे । वार्षिक रूपमा सरकारी निकायले ३ हजार ५०० देखि ४ हजारलाई रोजगारी दिएको जनाउँदै उनले निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गरिरहने उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।
‘छोटो समयमा महासंघको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला,’ उनले भने ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताइन् । उनले खुल्ला सीमाको चुनौतीसँगै अवसर पनि रहेको धारणा राखिन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या आएको बताए । उनले मुलुकमा धेरै सम्भावना रहेकाले कम काम गरे पनि धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा राखे ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजेका बताए । उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्माण भइसकेको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र निराश बनेका बताए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा सङ्घले विगतदेखि राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आइरहेको बताए ।