काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । नेकपा जिल्ला समिति रुकुम पश्चिमले मुसिकोट नगरपालिका-१ बराहाटाकुरमा आयोजना गरेको एकता सन्देश सभामा उनले आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने करिब निश्चित भएको बताए ।
‘पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुममा पनि आउनु जस्तै हो, जिल्ला फरक भए पनि यहाँको धेरै विषयमा समानता र एकता छ, यसअघि रुकुम थियो । यहाँबाट हामीले जनयुद्धको तयारी गरेका थियौँ । अहिले पनि रुकुमका जनता, नेता कार्यकर्ता हाम्रो साथमा छन् भन्ने विश्वास छ,’ संयोजक दाहालले भने ।
यहाँको विकास निर्माण गर्न तथा जनताका समस्या समाधान गर्न आफू केन्द्रित हुने उनले बताए ।
सह संयोजक माधव नेपालले १७ वटा पार्टीबीचको सहमतिमा एकता गरी नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै यसबाट नयाँ इतिहासको रचना भएको धारणा राखे । नेकपाले समाजवादको यात्रा सुरु गर्दै देशभर स्थापित हुँदै गएको उनको भनाइ छ ।