काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आव्हानमा विशेष महाधिवेशन सुरु हुँदैछ । पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौं स्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुनेछ ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उनले बताए ।
पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।
मुलुक भरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप २/२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुने गरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
यसैगरी महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूले १ हजार रुपैयाँ शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटन पछि बन्दशत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।