रूपनी जिएम
काठमाडौं । ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो,’ यो भनाइ हो- बाँकेको बैजनाथ गाउँपालिका-१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा करिब २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए । यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेको छ ।
परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज पृथ्वीबहादुरको जीवनको आधारशिला बनेको छ । यसले उनलाई गाउँमै एउटा आत्मनिर्भर कृषक उद्यमीका रूपमा स्थापित गरेको छ । सुरुमा परेवा पाल्ने उहाँको कुनै योजना थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय समवेदनाले छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको पृथ्वीबहादुरको भनाइ छ । त्यसपछि ती परेवा आफैँ उनकै घरमा बस्न थाले र समयसँगै तिनको सङ्ख्या बढ्दै गयो ।
परेवाको सङ्ख्यासँगै पृथ्वीबहादुरको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उनको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घरआँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ ।
हिन्दू धर्मशास्त्रअनुसार जहाँ परेवाले बास गर्छन्, त्यस्तो घरमा शुभ लक्षण रहने, सुख, शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवाप्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उनको भनाइ छ । परेवाले केवल रोजगारीमात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उनको जीवनमा ल्याएको परिवर्तन भावनात्मक मात्र नभई आर्थिक रूपमा अत्यन्त महत्त्वपूर्ण पनि छ ।
पृथ्वीबहादुरले जोडी परेवा ५ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । विशेषगरी सङ्कटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उनले बताए । उक्त समयमा एउटा याममै ४५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म आम्दानी भएको पनि बताए । यही आम्दानीले पृथ्वीबहादुरको घर खर्च, छोराछोरीको पढाइ, स्वास्थ्योपचार र दैनिकी सहज बनेको छ । साउन र भदौमा चारोको अभाव हुँदा पृथ्वीबहादुर परेवाका लागि विशेष आहार आफैँ तयार गर्छन् ।
‘मसुरोको दानाजस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छु,’ उनले भने । उक्त दानाले परेवाको स्वास्थ्य राम्रो राखिनुका साथै उत्पादन पनि बढाएको पृथ्वीबहादुरको अनुभव छ । जाडो महिनामा परेवाको मासुले शरीर तताउने विश्वासका कारण पृथ्वीबहादुर धेरैजसो परेवा किन्न आउने गरेका बताउँछन् ।
‘मन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरीका लागि परेवा किन्न आउनेको सङ्ख्या उल्लेख्य छ,’ पृथ्वीबहादुरले भने । यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको उनको भनाइ छ । उनले परेवा पालेदेखि नै त्यसको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको बताए ।
परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उनका लागि आम्दानीको स्रोतमात्र नभई खेतिपातीमा सहायक माध्यम पनि बनेको छ । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीबहादुरले दुईपटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र परेवापालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताए ।
आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उनका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ ।
‘वर्षमा करिब दुई महिनामात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन्,’ उनले भने ।
उनको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । ‘बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो । बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्छु,’ उनले भने ।
मन्दिरमा भाकल गरेका व्यक्तिले बाँके बाहेक अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पृथ्वीबहादुरले बताए । कहिलेकाहीँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उनको भनाइ छ ।
परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उनले बताए । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उनका छोराछोरी परेवासँगै हुर्किएका छन् ।
पृथ्वीले भने, ‘परेवाबिना यो घर सुनसान लाग्छ ।’ परेवाले उनलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ ।
पृथ्वीबहादुर चौधरी आज परेवा पालनबाट मासिक २५ रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म नियमित आम्दानी गरिरहेको बताउँछन् । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उनको अनुभव छ ।
‘सिजनमा परेवा बेचेर ५० हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्म पनि कमाएको छु,’ उनले भने, ‘यही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।’
कुनै समय खुला आकाशमा उड्दै बासको खोजीमा भौतारिएका दुई जोडी परेवाले आज पृथ्वीबहादुरको जीवनलाई आर्थिक रूपमा धेरैमाथि उठाएको छ । परिवारसँगको उनको भावना मोह र समवेदनाबाट सुरु भएको यात्राले आत्मनिर्भरको जगलाई निर्माण गरेको छ । परेवाले उनको जीवन बदलिदिएको छ र एउटा साधारण किसानलाई उद्यमीका रुपमा चिनाएको छ । रासस