काठमाडौं । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले पार्टीभित्र देखिएको आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।
उनीहरूले पार्टीको ऐतिहासिक भूमिका स्मरण गराउँदै वर्तमान राजनीतिक संकटको सामना गर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त अपिलमा नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा निरंकुशता र अवरोधहरू पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना र सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख छ ।
सोही जिम्मेवारीलाई आत्मसात गर्दै अहिले देखिएको राजनीतिक संकट र पार्टीभित्रको तिक्तता अन्त्य गर्न नेतृत्वले विवेकपूर्ण निर्णय लिनुपर्ने भातृ संस्थाहरूको धारणा छ ।
अपिलमा पछिल्लो समय देशमा विकसित राजनीतिक अवस्था र नेपाली कांग्रेसभित्र देखिएको असहमति चिन्ताजनक बन्दै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा देश र जनताको हितका लागि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
भातृ तथा शुभेच्छुक संस्थाहरूले नेपाली कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका तय भइसकेको सन्दर्भमा सोही प्रक्रियाअनुसार अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।
तोकिएको मितिभित्र महाधिवेशन सम्पन्न गर्न पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
अपिलमा नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, दलित संघ, आदिवासी जनजाति महासंघ, मुस्लिम संघ, थारू संघ, ट्रेड युनियन, सांस्कृतिक संघ, राष्ट्रिय मगर संघ, तामाङ संघलगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूले सहमति, एकता र संगठनात्मक अनुशासन कायम राख्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।