काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेला सुरु भएको छ । काठमाडौंको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला सुरु भएको हो ।
पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, विशेष महाधिवेशनको माग र आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गर्न भेला आयोजना गरिएको भेलामा सहभागी नेता जितजंग बस्नेतले जानकारी दिए ।
भेलामा उपत्यकामा उपलब्ध ५० बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको भेलामा उपस्थित नेता बस्नेतले जानकारी दिए ।
भेलामा सभापति शेरबहादुर देउवा निकट नेताहरूको उल्लेख्य उपस्थिति रहेको बस्नेतले बताए ।
संस्थापन पक्षले पार्टीलाई एकताबद्ध गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन तथा समसामयिक राजनीतिक चुनौतीहरूमा केन्द्रित हुनुपर्ने धारणा अघि सार्ने तयारी गरेको बुझिएको छ ।
यस भेलालाई पार्टीभित्र देखिएको दुई धारबीचको तानातानको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ । भेला पछि संस्थापन पक्षको साझा धारणा तथा आगामी रणनीतिबारे औपचारिक निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ ।