विश्वप्रकाश र मलाई पार्टीभित्र संगठित रूपमा घेराबन्दी गरिँदैछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गर्दै संगठित रूपमा दबाब र घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले पार्टी सञ्चालनमा पछिल्लो समय प्रक्रिया र विधानलाई बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको दाबीसमेत गरे । 

महामन्त्रीका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा आफूहरूलाई कर्नर गर्ने प्रयास भइरहेको थापाको भनाइ थियो । 

‘मलाई कर्नरमा पार्न खोज्दा मेरो दायरा बढेको छ । केन्द्रीय समितिमा आफू अल्पमतमा भएपनि पार्टी कार्यकर्ता र जनताका बीचमा मेरो लोकप्रियता नेताहरूले खोस्न सक्दैनन्,’ उनको दाबी छ ।

‘पार्टीभित्र प्रक्रिया र विधानलाई क्रमशः निल्दै जाने क्रम चलिरहेको छ । यही क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो भूमिकामा सक्रिय रहँदा हामीलाई कमजोर बनाउने, एक्ल्याउने र घेराबन्दी गर्ने प्रयत्न भएको छ । संख्याको दम्भ देखाउँदै सबै मिलेर हामीमाथि प्रहार गर्ने काम भइरहेको छ,’ उनले थपे ।

थापाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर पारिँदै गएकोप्रति गम्भीर चिन्ता पनि व्यक्त गरे । उनले नेतृत्व तहबाटै विधि र संस्थागत अभ्यासलाई बेवास्ता गरिएको आरोपसमेत लगाए ।

पार्टी कार्यालयमा गरिएको घेराबन्दी सानो र सीमित भएको उल्लेख गर्दै उनले आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा भने निकै ठूलो रहेको महामन्त्री थापाको दाबी छ । उनका अनुसार कांग्रेसको वास्तविक शक्ति बाहिर छ ।

‘आम कार्यकर्ता, समर्थक र नागरिकको बीचमा रहेको गगन थापालाई एक्ल्याउँदा गगनलाई घाटा हुँदैन । मेरो त्यो घेरा धेरै ठूलो छ,’ थापाले भने ।

उनले पार्टीभित्रको साँघुरो घेराभन्दा बाहिर निस्केर जनतामाझ जाने वातावरण नेतृत्वकै गतिविधिले सिर्जना गरिरहेको टिप्पणी गर्दै अन्ततः आम नागरिकले नै सही–गलतको फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।

Share News