काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी राष्ट्रिय सभा निर्वाचनमा सबै सिटमा उम्मेदवारी दर्ता गर्ने भएको छ । बुधवार (आज) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको चुनावी गठबन्धनबाट अलग भएपछि नेकपाले एक्लै चुनावी मैदानमा उत्रिने निर्णय गरेको हो । पार्टीले सबै प्रदेशमा उम्मेदवार टुंग्याउँदै दर्ता प्रक्रियामा सहभागी हुने जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ । प्राप्त सूचीअनुसार नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपानेलाई उमेदवार चयन गरेको छ । नेकपाको मधेस प्रदेश उमेदवारहरूमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल रहेका छन् ।
बागमती प्रदेशवाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झासँगै गण्डकीबाट कपिल लामालाई उमेदवारको रूपमा नेकपाले अगाडि सारेको छ । बागमती प्रदेशको एक सिट भने खाली छोडेको छ ।
यस्तै, लुम्बिनी प्रदेशबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी, सर्जन विकको साथै कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारालाई उमेदबार बनाएको छ ।
सुदूरपश्चिम प्रदेशवाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदबार वनाएको छ ।
नेकपाका मुख्य सचिव गणेशमान गुरुङका अनुसार पार्टीले गठबन्धनबिनै चुनावी प्रतिस्पर्धामा उत्रँदै आफ्नो राजनीतिक हैसियत पुनःस्थापित गर्ने लक्ष्य राखेको छ ।