सुनिल थापा, रामकुमारी झाँक्री र महन्थ ठाकुर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार

बायाँबाट क्रमश : सुनिलबहादुर थापा, रामकुमारी झाँक्री र महन्थ ठाकुर ।

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री सुनिलबहादुर थापालाई कोशी प्रदेशवाट उम्मेदवार बनाएको छ । तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएपछि थापा उम्मेदवार बन्ने भएका हुन् ।  

पछिल्लो तीन दलीय तालमेलअनुसार कांग्रेसले ९ सीट, एमालेले ८ सीट र जसपाले १ सिट पाउने भएका छन् । जसपाले प्राप्त गर्ने उक्त सिटमा अध्यक्ष महन्थ ठाकुर उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसले मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ । 

कोशीका उमेदवार थापा राष्ट्रपति रामचन्द्र पौडेलका मुख्य राजनीतिक सल्लाहकार थिए । राष्ट्रिय सभाको निर्वाचनमा प्रतिष्पर्धा गर्न थापाले उक्त पदबाट राजीनामा दिएका थिए । खाती पूर्वमहान्याधिवक्ता हुन् । 

एमालेले पनि आफूले तालमेलअनुसार पाएको सिटमा उम्मेदवारी टुँग्याएको छ ।  एमालेले पाएको ८ सीटमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकीबाट सम्झना देवकोटा, लुम्बिनीबाट रामकुमारी झाँक्री, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । 

मेचे एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको समयमा सचिवालयमा रहेर काम गरेकी नेतृ हुन् । डा. दँगाल किसान आयोगका पूर्वअध्यक्ष हुन् भने झाँक्री २०७४ को समानुपातिक सांसद हुन् ।

Share News