मन्त्री घिसिङको दावी- म कुनै पनि पार्टीमा आवद्ध छैन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको दावी गरेका छन् । 

नेपाल इन्जिनियर एसोसिएसनको एक कार्यक्रममा सम्बोधनका क्रममा उनले यस्तो दावी गरेका हुन् ।

कार्यक्रममा उपस्थित एक इन्जिनियरले मन्त्री घिसिङलाई  तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मन्त्री हो ? भन्दै प्रश्न गरेपछि उनले उक्त जवाफ दिएका हुन् ।

‘आजसम्म म कुनै पनि पार्टीमा आवद्ध छैन,’ उनले भने ।

यद्यपि घिसिङ पुस १४ गते पहिलो वरीयताको उपसभापति बन्नेगरी रास्वपामा प्रवेश गरेका थिए । उनी उज्यालो नेपाल पार्टीका संरक्षकसमेत हुन् । 

उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् । उनले आफ्नोतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा पनि राखेका छन् । 

कुलमानको यो सक्रियतासँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा लागेका तीन मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएकी छन् ।

तीन मन्त्रीमा कुलमान, बब्लु गुप्ता र जगदीश खरेल रहेका छन् । 

Share News